किन विश्वभर भाइरल बन्यो भारतीय किसान आन्दोलनको यो तस्विर (फिचर) – Janadesh Daily | ePaper

किन विश्वभर भाइरल बन्यो भारतीय किसान आन्दोलनको यो तस्विर (फिचर)


जनादेश मिडिया वाच ।
भारतमा किसान आन्दोलन चलिरहेको छ । केन्द्र सरकारले हालै ल्याएका नयाँ कनुनमा कृषि क्षेत्रमा पूँजीपति या व्यसायिक घरानालाई सुम्पिने नियत रहेको र त्यसले किसानको कुनै पनि अर्थमा हित नहुने भन्दै किसान आन्दोलित भएका हुन् ।

पञ्जाब, हरियाणा र उत्तर प्रदेशसहितका भारतका विभिन्न राज्यमा कृषि कानूनको विरोधमा आन्दोलन हुँदै आएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले केही महिना पहिले कृषि उपज व्यापार तथा बाणिज्य (संवर्धन र सरलीकरण), कृषक (सशक्तिकरण तथा संरक्षण) मूल्य आश्वासन र कृषि सेवामा करार, आवश्यक वस्तु (संशोधन) कानून ल्याएको थियो । त्यसकै विरोध भइरहेको हो ।

आन्दोलन नियन्त्रणमा राख्न मोदी सरकारले ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल तैनाथ गरेको छ । यसैक्रममा भारतीय अर्धसैनिक बल र किसान आमने सामने भएको एउटा तस्बिर अहिले संसारभर भाइरल भैरहेको छ । उक्त तस्बिरमा एक शिख समुदायका वृद्धमाथि प्रहरीले लाठी प्रहार गर्न लागेको देखिन्छ । यो दृष्य गत शुक्रबार सिंघु बोर्डरमा देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तस्बिर समाचार एजेन्सी पिटीआईका रवि चौधरीले खिचेका हुन् । शिख मूलका वृद्ध किसानमाथि प्रहरीले लाठी मार्दै गरेको यो तस्वीरले भारतीय राजनीतिमै रस्साकस्सी निम्त्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले किसानमाथि कसरी बर्बर दमन गरिरहेको छ भन्ने प्रचारका लागि विपक्षीहरुले यो तस्विर प्रयोग गरेका छन् ।

प्रतिपक्षी दलहरूले यो तस्वीरलाई उदाहरणका रुपमा पेश गर्दै मोदी सरकारमाथि निसाना साँधेका छन्। तर भाजपाका नेताहरू चाहिँ प्रहरीले हानेको लाठी किसानलाई नलागेको तर्क गरिरहेका छन्।

तर किसानका समर्थकहरुले सामाजिक सञ्जालमा जय जवान जय किसानको नारा लगाइरहेका छन्। यो नारा सन् १९६५ मा तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले तब लगाएका थिए: जब भारत र पाकिस्तानका बीच युद्ध चलेको थियो। त्यतिखेर शास्त्रीले देश निर्माणमा किसान र सैनिकको महत्वलाई दर्साउन यो नारा लगाएका थिए।

प्रतिपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीले ट्वीटरमा यो तस्वीर राख्दै लेखेका छन्, ‘यो निकै दुःखद तस्वीर हो, हामीले नारा त जय जवान, जय किसानको लगायौं, तर आज प्रधानमन्त्री मोदीको अहंकारले जवानहरूलाई किसानविरुद्ध खडा गरिदिएको छ।’

भारतीय जनता पार्टीका आइटी सेल प्रमुख अमित मालवीयले राहुल गान्धीप्रति प्रतिवाद गर्दै तीन सेकेन्डको भिडियो अपलोड गरेका छन्, जहाँ उनले शिख वृद्धमाथि प्रहरीले हानेको लाठी नलागेको बताएका छन्। साथै उनले यो तस्वीरलाई एक प्रोपोगाण्डा भएको दावी गरेका छन्।

तथ्यजाँच गर्ने बूमलाइवडटकमले भने अमितको दावीलाई गलत ठहर्‍याउँदै लामो अवधिको सो भिडियो सार्वजनिक गरेको छ। साथै, ती वृद्ध सुखदेव सिंहसँग कुराकानी पनि गरेको छ।

यो तस्वीरले भारतलाई मात्रै नभई विश्वलाई नै तरंगित बनाइदिएको छ। शिखहरूप्रति सदाशयता राख्ने क्यानडाका वर्तमान प्रधानमन्त्री जस्टिन टुडोले भारत सरकारको यो रवैयाप्रति चिन्ता जनाएका छन्। साथै, मोदी सरकारप्रति उनले तिखो प्रतिक्रिया दिएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्