जनादेश अपडेट ।
देशभर विस्तारै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका अधिकांश भाग हुस्सुले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा हुस्सु कुहिरो देखिएको छ।
यसैगरी अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।
चिसो बढ्दै गएको भएपनि यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो ।
३० वर्ष अवधिको औसत मौसमी अवस्थाको आधारमा तुलना गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । ३० वर्षको जाडोयामको तुलनाको आधारमा नेपालमा यो वर्षको जाडोयाममा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो ।