पत्रकारलाई पेशाबाट वञ्चित गरेकाप्रति काँग्रेस नेताहरुको आपत्ति – Janadesh Daily | ePaper

पत्रकारलाई पेशाबाट वञ्चित गरेकाप्रति काँग्रेस नेताहरुको आपत्ति


जनादेश , (रासस) :

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले विभिन्न बहानामा पत्रकारलाई पेशाबाट वञ्चित गरिएकाप्रति आपत्ति जनाएका छन् ।

कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली काँग्रेसको कोरोना अनुगमन समिति र नेपाल पत्रकार महासङ्घबीच आज भएको छलफलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले पत्रकार जनताको पिरमर्का उजागर गर्न लागीरहेको बताउँदै उनीहरको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धित सञ्चार गृहले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कोरोना अनुगमन समितिका सदस्य डा चन्द्र भण्डारीले कोरोना विपद्को समयमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निष्काशन गर्नु अत्यन्तै अमानवीय व्यवहार भएको टिप्पणी गर्नुभयो ।

काँग्रेसकै नेता एनपी साउदले अहिलेको परिस्थितिमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । अनुगमन समितिका सदस्य योगेन्द्र चौधरी र डा माधवी भट्टले पत्रकारको समस्याप्रति सरकार मौन रहेको भन्दै आपत्ति जनाउनुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुई हजारभन्दा बढी पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सात सयभन्दा बढी सञ्चारमाध्यम बन्द भएको बताउनुभयो ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएता पनि कोरोनाका कारण यो पोशामा गम्भीर सङ्कट देखिएको बताउनुभयो ।

उहाँले केही सञ्चार गृहले पत्रकारलाई पेशाबाट वञ्चित गरेको भन्दै पत्रकारको रोजिरोटीका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई साचारमाध्यमलाई व्यवस्थित गर्ने उपयुक्त उपाय ल्याउनुपर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्