भक्तपुर ।
भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पु¥याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतमको सक्रियता र उहाँको अस्पताल सञ्चालन तथा विकास समितिको नेतृत्व गरिरहेका मिलन सुवालसँगको तालमेलसँगै भक्तपुर अस्पतालले स्थापना र सञ्चालनको इतिहासमै ठूलो विकास गरेको हो । अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै दुई दर्जन बेडसहित अस्पतालले एचसियु सञ्चालन गरेको छ ।
भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ । यसअघि रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । यसअघि भक्तपुर अस्पताल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियो । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनोट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो । रासस