काठमाण्डौ । सृजनशीलता बढाउन चाहनु हुन्छ? सीमा तोक्नुहोस् ।
स्वतन्त्र र सृजनात्मक हुनु एकै हो जस्तो हामीले प्राय: सोच्छौ।
तर के तपाईँले कहिल्यै विचार गर्नुभएको छ कि नियन्त्रण र सीमितताले वास्तवमा सृजनशील बनाउन सक्छ।
के साँच्चै ‘चाहिने भन्दा अधिक स्वतन्त्रता’ हुन्छ?
“सृजनशीलता सम्भावनाको खुला परिधि हो भन्ने सोच्नु राम्रो कल्पना मात्रै हो,” ओपन युनिभर्सिटीका मनोवैज्ञानिक प्राध्यापक कट्रीनेल ट्रोम्पले भने।
“तर साँचो कुरा के ह भने जब मानिसहरूले सम्भावनाका खुला सीमा प्राप्त गर्छन् उनीहरू केही गर्न नसक्ने हुन सक्छन्।”
न्युटनले क्वारन्टीनमा क्यालकुलसको सिद्धान्त प्रतिपादन गरेका थिए। र डा. सुसले पुरै किताब ५० भन्दा बढी फरक शब्दको प्रयोग नगरी लेखे।
त्यसैले अवरोध नै सृजनशीलतालाई सघाउ पुर्याउने ट्रोम्पको बुझाइ छ।
‘सुजनशीलताको वक्ररेखा’
सृजनशीलताबारे विशेषज्ञ बारोनेस सुसान ग्रीनफिल्ड यस विषयमा सहमत छन्।
“मानव मस्तिष्क शाखाहरू फैलाउँदै विकास हुन्छ।”
तर उनी नियन्त्रण सृजनशीलताका लागि फाइदाजनक वा समस्या दुवै हुनसक्ने बताउँछिन्।
नियन्त्रण नहुँदा हामीले अल्छी वा कम प्रेरित भएको महसुस गर्न सक्छौँ। तर धेरै नियन्त्रण भए त्यसले तनाव सृजना गर्नसक्छ।
सृजनशीलता के हो?
ग्रीनफिल्डको बुझाइमा सृजनशीलता कुनै पनि समस्याबाट छिट्टै उभ्रन सक्ने क्षमताको एउटा पाटो हो।
“त्यो क्षमता तपाईँसँग समस्या वा चुनौती भएका बेला आउँछ र त्यसले तपाईँलाई युक्ति दिन्छ।”
ओपन युनिभर्सिटीमा मनोविज्ञानका उप-प्राध्यापक डा. भोल्कर पेटेन्टलेका लागि यसको परिभाषा अझ सामान्य छ: “यो त्यस्तो चिज बनाउनु हो जुन पहिले कहिल्यै अस्तित्वमा थिएन।”
उनी जानीजानी र अन्जानमा गरिएको नियन्त्रणबारे फरक पनि छुट्टयाउछन्।
कलाकार कीया कन्सटेन्सलाई यी दुईबीचको फरक थाहा छ।
“राजनीतिक, आर्थिक र सामाजिक जस्ता बाहिरी सीमितता। सामान्य पृष्ठभूमि रहेको बहुजातिय, अश्वेत, महिला कलाकारलाई कला क्षेत्रमा यिनै कुरा सीमितताका रूपमा हेर्न सकिन्छ जुन ऐतिहासिक रूपमा पितृसत्तात्मक, श्वेत अनि मध्यम आय भएकाहरूको स्थानका रूपमा स्थापित भएको देखिन्छ। “
कन्सटेन्स आफूलाई मन पर्ने कलाकार फेथ रीङ्गोल्डको सङ्घर्ष सम्झन्छिन्।
“उनलाई ठूलो क्यानभासमा चित्र बनाउन मन थियो। कैयौँ पुरुषहरूले बनाइरहेका ठूलो आकारका आधुनिक चित्र। तर उनीसँग त्यस्तो गर्नका लागि घरमा स्थान नै थिएन।”
“त्यसकारण उनले तन्नामा कोरे जस्तो गरी चित्र बनाउन थालिन र विभिन्न आर्ट ग्यालरीहरूमा लान थालिन्। सीमिततामा कलाकार कसरी फक्रन्छ भन्ने कुराको उनी उदाहरण हुन्।”
सीमा कसरी तोक्ने र सृजनशील बन्ने
“आफू परिचित रहेका कुराहरू परित्याग गर्नूस् र नयाँ कुरा तर्फ लाग्नूस्। तपाईँ सबै कविता लेख्नुहुन्छ भने गद्यात्मक शैलीमा लेख्नूस्,” प्राध्यापक ट्रोम्प सुझाउँछन्।
डा. पेटेन्टको सुझाव पनि उस्तै छ: “यदि तपाई ब्यान्डमा सङ्गीत तयार गर्नुहुँदै छ र त्यस क्रममा अघि बढ्न कठिन भइरहेको छ भने आफ्ना वाद्यवादनका सामग्री साथीसँग साट्नूस्। त्यसले तपाईँको गीतमा नयाँ कुरा बनाइदिन सक्छ।”
सृजनशील बन्न दिनको केही समय छुट्ट्याउनुहोस्।
“दिनमा एउटा समय तोक्नूस् जब तपाईँ अरू केही पनि नगरी सृजनात्मक कार्यमा लाग्न मिलोस्,” डा. पेटेन्टले भने।
त्यस्तै आफ्ना लागि समयसीमा तोक्न पनि महत्त्वपूर्ण छ।
“जब हामीले केही गर्नका लागि कम समय तोक्छौँ प्राय: त्यस्तै बेला सबैभन्दा महत्त्वपूर्ण सूचना हात लाग्छ,” कन्सटेन्स भन्छिन्।
र यदि माथि उल्लेखित सबै युक्ति प्रयोग गर्दा समेत सफल हुन नसके प्राध्यापक ट्रोम्पले दिएको यो सुझाव मनन गर्नूस्।
“चित्र कोर्दा क्यानभासको माथिल्लो भागमा देब्रे तिर एउटा रातो थोप्लो वा निलो रेखा खिच्नूस्। र त्यसलाई वाधाका रूपमा हेर्दै आफूलाई चुनौती दिँदै सृजनामा लाग्नूस्।”
सुन्दा यो अजिब लाग्न सक्छ तर उनी भन्छिन् “तपाईँले ती वाधा आफ्नो कलामा साँच्चै प्रयोग नगरे पनि इच्छाशक्ति देखाउँदै आफ्नो काममा लागि रहे त्यसले सृजनशील हुन सहयोग गर्न सक्छ।”
यो रिपोर्ट बीबीसी नेपालीबाट साभार गरिएको हो ।