रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित – Janadesh Daily | ePaper

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित


एजेन्सी सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा सातौ मिनेटमा युभेन्टसले पहिलो आक्रमण बुनेको थियो । डगलस कोस्टाको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले सहजै नियन्त्रणमा लिएका थिए । १०औं मिनेटमा फ्रिकिकमा आएको बललाई म्याथ्थिज डि लेग्टले भलीमार्फत दिएको पासलाई एलेक्स सान्द्रोले गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो ।

३१औं मिनेटमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला गोलनजिक पुगेर पनि चुके । ४३औं मिनेटमा लाजियोका सिरो इम्मोवाइलको २५ यार्ड टाढाको प्रहार पोस्टमा लाग्दै बाहिरिद लाजियोले पनि अग्रता लिने अवसर खेर फालेको थियो । दोस्रो हाफमा पनि घरेलु टोलीले शुरुवातदेखि नै लाजियोमाथि दवाव सिर्जना गरेको थियो । ४६औं मिनेटमा पाउलो डिबालाले लाजियोका केही डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई रोनाल्डोले भेट्टाउन सकेनन् ।

४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्‍यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि शुरुवातमा फ्रिकिक दिएपनि भिएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोको ५१औं मिनेटमा सदुपयोग गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई खेलमा २–० ले अघि बढाए ।

यो सिजन सिरी ‘ए’ मा ३० गोल पुर्‍याएका रोनाल्डो लाजियोविरुद्ध दुई गोल गरेपछि प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ मा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् ।

६५औं मिनेटमा डिबालाको प्रहार क्रसबारमा लागेर फर्कदा बास्टोसले क्लियर गरेको बललाई रोनाल्डोले हेडर प्रयास गरेपनि क्रसबारबाट थोरै बाहिरिदा रोनाल्डो ह्याट्रिकबाट चुके ।  ८३औं मिनेटमा लाजियोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लियोनार्दाे बोनुचीले सिरो इम्मोवाइललाई पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा सिरो आफैले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

लाजियोमाथिको जितसँगै युभेन्टस लगातार नवौंपटक सिरी ‘ए’ को उपाधितर्फ लम्किएको छ । युभेन्टसको ३४ खेलबाट ८० अंक पुगेको छ । जुन दोस्रो स्थानको इन्टर मिलानको भन्दा ८ अंकले बढी हो । पराजित लाजियो ६९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्