जनादेश सोसल मिडिया वाच ।
प्रधानमन्त्री र देशको समग्र राजनीतिक परिदृष्यप्रति विरक्ति प्रकट गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले धम्कीपूर्ण जवाफ दिएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले रविन्द्र मिश्रलाई समयले जवाफ माग्ने भन्दै ‘धम्की’ दिएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, “सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।”
अध्यक्ष मिश्रले नेकपा ओली समूहले गत शुक्रबार धनगढीमा आयोजना गरेको सभाको तस्विर राखेर संविधान कुल्चिने, काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न पनि हजारौं नागरिक भेला हुने भनेर कटाक्षसहितको पोष्ट गरेका थिए । उक्त पोष्टमा सल्लाहकार रिमालले मिश्रलाई ‘सीमामा बस्न’ धम्कीसहितको जवाफ फर्काएका छन् ।
मिश्रले टि्वट गरेर रिमाललाई धम्कीयुक्त भाषा प्रयोग नगर्न सुझाव दिएका छन्। जवाफमा मिश्रले लेखेका छन्, प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा “सीमामा बस्नुस्” भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।” लेखेका छन् ।
प्रधानमन्त्रीका सल्लाहकार रिमाल छुद्र बोलीका लागि चिनिन्छन् । उनले यस अघि आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई पनि यस्तै भाषा प्रयोग गरेका थिए ।