जनादेश वाच ।
निर्वाचन घोषणा भैसकेको र नेकपाको आधिकारिकता विवाद चलिरहेको समयमा सरकारले निर्वाचन आयोगका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरेको छ ।
आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
विभाजित नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् ।
योगेशले ट्विटरमा लेखेका छन् छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।
— Yogesh Bhattarai (@yogesbhattarai) January 12, 2021
निर्वाचन आयोग स्रोतका अनुसार कानुन शाखाका प्रमुख गौतमका साथै आयोगका आयुक्तहरुले नेकपा विवादको मुद्दा हेरिरहेका थिए ।
मंगलबारमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका थिए ।
नेकपा दाहाल–नेपाल पक्षले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।
उनले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले? हजारौँ सहिदहरुको बलिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ?’
ओलीले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमाथि प्रहार गरेको प्रचण्डको भनाइ छ।
प्रचण्डले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकाले पार्टीको नाम र सूर्य चिन्ह नपाउनेमा दुविधा नपाल्न आग्रह गरे। उनले अहिलेको कानुनले स्वतः आधिकारिकता आफ्नो पक्षले पाउने र नपाएमा आँधीबेहरी ल्याउने चेतावनी दिए।