संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : नेता पौडेल – Janadesh Daily | ePaper

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : नेता पौडेल


दमौली ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्छ भन्नुभयो ।

“संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हँुदैन”, उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको पुनःस्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।” जनताले प्रतिनिधिसभालाई पाँच वर्षका लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गर्नुभयो । “प्रतिनिधिसभा पुनःस्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ”, उहाँले भन्नुभयो, “कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो”,

वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो । “सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्”, उहाँले भन्नुभयो, “अदालतप्रति आशा र विश्वास छ ।”

लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उहाँले नेताहरुको महत्वाकाङ्क्षाका कारण संसद् भङ्ग हुने गरेको इतिहास रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल लगायतले अदालतले संसद् पुनःस्थापनाका पक्षमा फैसल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्