कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो – Janadesh Daily | ePaper

कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो


विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ ।

वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ । पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ ।

महिला बन्दीगृहमा सात बन्दी रहेका थिए । उनीहरुमध्ये पाँच जनालाई बागलुङ र दुई जनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जीर्ण बनेको पर्खाल ठूलो वर्षाका कारण भत्किएको हो ।

कारागारका अन्य पर्खाल पनि जीर्ण छन् । एउटै जिल्लामा सबै जना नअटेका कारण दुई जिल्लामा बाँडेर स्थानान्तरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । कारागारमा महिला बन्दीगृह बनाउन शुरु गरिए पनि बजेट अभावमा एक दशकदेखि अलपत्र बनेको छ ।

अलपत्र भएको बन्दै गरेको महिला बन्दीगृहको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ । यसअघि पनि पर्वत जिल्ला कारागार पटक–पटक भासिने समस्या थियो । पन्ध्र जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन् ।

पुरुषतर्फको बन्दीगृहमा भने कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताउनुभयो । यस्तै जिल्ला कृषि ज्ञान केन्द्र पर्वतको भवन पनि भत्किएको छ । निरन्तरको वर्षाका कारण जमिन भासिँदा कर्मचारीको आवास रहेको एकतले भवन भत्किएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिनअघि भासिएको थियो । त्यसपछि त्यहाँ कर्मचारी बस्न छाडेका थिए । गएरातिको पानीले भवन नै भत्किएको उहाँले बताउनुभयो ।

राममन्दिरका संरचना बग्यो, साधुसन्त विस्थापित कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको छ ।

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाएको वडाध्यक्ष गोविन्द केसीले जानकारी दिनुभयो । अहिले पनि कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको उहाँले बताउनुभयो । गौशाला र धर्मशाला भत्किएपछि साधुसन्तलाई म्याग्दीतर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ ।

राममन्दिरमा नियमितरूपमा आठ साधुसन्त बस्दै आएका थिए भने आगन्तुकका रूपमा मुक्तिनाथ आवतजावत गर्ने साधुसन्त पनि बसोबास गर्दै आएका छन् । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ, पालिकाको तर्फबाट केही राहत पनि दिने गरेका छाँै ।” बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले मङ्गलबार अवलोकन गरेको थियो ।

अध्यक्ष मल्लले पालिकाको तर्फबाट साधुसन्तलाई राहतसमेत दिनुभयो । उहाँले नदीको बहाव घटेपछि संरक्षणका काम गरिने आश्वासन दिनुभयो । मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि जाने उहाँले बताउनुभयो ।

“सङ्घीय र प्रदेश सरकारसँग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्