जनादेश वाच ।
संसद विघटन गरेर निरंकुशताको प्रहसनलाई निरन्तरता दिएका प्रधानमन्त्री केपी ओली र उनको सरकारविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा विशाल शक्ति प्रदर्शन गर्दै छ।
ओलीलाई तर्साउने आमसभा भृकुटीमण्डपमा आयोजना गरिने छ । सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।
विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने मञ्च व्यवस्थापन संयोजक सूर्य सुवेदीको दाबी छ । भाषण सुन्न सजिलो होस् भनेर पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन राखिएको उनले जनादेशलाई जानकारी दिए । साथै रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा माइक पनि व्यवस्था गरिने उनले बताए ।
विरोधसभा अघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् ।
यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय प्रचण्ड र नेपालले गर्ने जनाइएको छ ।
दुई लाख भन्दा बढि नागरिक सभामा सहभागी गराउने दाबी गरेको नेकपाले त्यसका लागि विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौँ ल्याएको छ । नेकपाको प्रचण्ड–नेपाल खेमाले बुधबारको ‘जनप्रदर्शन’ निर्णायक हुने समेत दाबी गरेको छ ।
केन्द्रीय संघर्ष समितिका अनुसार बिहानबाटै निस्कने जुलुस ११ १२ बजे सुरू हुने मूल जुलुसमा मिसिनेछ ।
यस्तो छ जुलुसको रुट
मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछन् ।
प्रदर्शनमा २ लाखभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरेको समूहले तदअनुरूपको सहभागिता जुटाउन प्रदेश २ लाई बढी केन्द्रित गरेको छ ।
यसका लागि प्रदेश-२ बाट मात्रै २ सय भन्दा बढी बस तथा साना ठूला अरू गाडीबाट ३० हजारभन्दा बढी मानिस काठमाडौँ आएको नेता शिवकुमार मण्डलले जानकारी दिए ।
प्रदर्शनका लागि प्रदेश २ का ८ जिल्लामध्ये धनुषाबाट मात्रै ६० वटा बसमा कार्यकर्ता काठमाडौँ आएका छन् ।
यस्तै बाराबाट ६५ वटा गाडी र सुमोमा कार्यकर्ता काठमाडौँ आएका छन् भने सर्लाहीबाट पनि ९० वटाभन्दा बढी बस तथा तीन दर्जनभन्दा बढी सुमोसहितका गाडीमा कार्यकर्ता काठमाडौँ हिँडेको दाहाल-नेपाल समूहको जिल्ला नेताहरूले जनाएका छन् ।
यो पनि हेर्नुस्-
ओलीको छिर्के दाउ फ्लप ! विप्लवसहितका ४ समूहको मोर्चा रणनीतिक तयारीमा, घोषणा भोलि
नेकपा अधिकारिकतामा ओली गुटको रणनीति ! पेलेर जाने प्रधानमन्त्रीको सन्देश, सिंहदरबारबाट फैसला