विप्लव नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा आज, के होला घोषणा ! – Janadesh Daily | ePaper

विप्लव नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा आज, के होला घोषणा !


जनादेश वाच ।
सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज औपचारिक घोषणा गर्दैछन् । बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्न लागिएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको छ ।

चारै दलले ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाएका थिए ।

भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएको छ । उसका कार्यकर्ता सुरक्षाकर्मीबाट मारिएको तथ्यांक छ । विप्लव समूहबाट पनि हत्याका घटनाहरु भएका छन् ।

यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा कम्युनिस्ट शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा संसद बिघटन गरेको आरोप लगाएको थियो । उनीहरुले संसदीय व्यवस्था नै असफल भएको निष्कर्ष समेत निकाल्दै जनगणतन्त्र स्थापनाका लागि एक भएर अगाडि बढ्न लागेको जनाएका थिए ।

नयाँ मोर्चाको घोषणाले प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई कमजोर पार्न पूर्वमाओवादीभित्र खेल्न खोजेपनि उनको योजना सफल नहुने देखाएको छ ।

संसद विघटनपछि लोकतान्त्रिक शक्तिहरुसँग सहकार्यको प्रस्ताव गरेको विप्लव समूहले ओलीको रणनीतिमा नफस्ने संकेत गरेको हो ।

यो पनि हेर्नुस्_ 

नेकपा हडप्न ओलीको तिकडम नै तिकडम ! यस कारण ‘काइते’ भन्न बाध्य भए प्रचण्ड

ओलीजीले मन्त्री बनाएका दुई जना पनि यतै फर्कने वार्ता गर्दैछन् : प्रचण्ड

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्