जनादेश, काठमाण्डौ । संसद विघटनविरुद्ध आन्दोलित नेकपाकी नेतृ रामकुमारी झाँक्री राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकै कारण पक्राउ परेपछि सर्वत्र विरोध भएको छ ।
अभिव्यक्तिबाट राष्ट्रपति विद्यादेवी भण्डारी अपमानित भएको विषयलाई प्रमाण मान्दै प्रहरीले उनलाई गिरफ्तार गरेपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ ।
प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले आफूलाई राज्यविरुद्धको कसुर अन्तर्गत मुलुकी अपराध संहिता २ हजार ७४ दफा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको पुष्टि गर्दै अन्तिम लडाईँका लागि जुट्न आह्वान गरेकी छिन् ।
दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
झाँक्रीको गिरफ्तारीलाई लिएर नेकपा दाहाल नेपाल समूहले गम्भीर आपत्ति जनाएको छ । तत्काल रिहा नगरे जुनसुकै कदम चाल्ने चेतावनी पनि नेकपाले दिएको छ । झाँक्रीको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी पनि गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको ठाडो आदेशमा नेता झाँक्रीलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसमा गम्भीर आपत्ति जनाएका छन्।लोकतन्त्रको पक्षम विचार राखेको भरमा प्रहरीले झाँक्रीलाई पक्राउ गर्नुको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको नियती लुकेको दाहालले आरोप लगाएका छन्। यो घटना आफ्नो पार्टीका लागि चुनौति पनि भएको उनको प्रतिक्रिया छ।
समूहकी नेतृ अष्टलक्ष्मी शाख्यले गलत गरिरहेकी राष्ट्रपतिविरुद्ध बोल्न पाउने अधिकार संविधानले सुरक्षित गरेको भन्दै आत्तिनु पर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएकी छिन् ।
झाँक्रीको गिरफ्तारीलाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले पनि आक्रोशित प्रतिक्रिया जनाएका छन् । काँग्रेसका नेता गगन थापाले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने भन्दै प्रश्न गरेका छन् । उनले सरकारलाई झ्यालखानाको संख्या थप्न समेत चुनौति दिएका छन्।
यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र झाले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको प्रतिक्रिया दिएका छन् । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको टिप्पणी गर्दै उनले विना शर्त रिहा गर्न माग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाअध्यक्ष कमल थापाले नेकपा नेत्री रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न माग गरेका छन् । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका हुन् । रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने टिप्पणी गर्दै मिश्रले झाँक्रीका शब्दभन्दा प्रधानमन्त्री ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने टिप्पणी पनि गरेका छन् ।
सञ्चारकर्मी रवि लामिछानेले भनेका छन्–सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो। यो अशुभ संकेत हुन सक्छ है। राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो। राम कुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।