लकडाउनमा आत्महत्या बढ्यो – Janadesh Daily | ePaper

लकडाउनमा आत्महत्या बढ्यो


जनादेश काठमाण्डौ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन् ।”

प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन् । “लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले पनि हिंसाका घटना बढेको देखिन्छ ।” उहाँले भन्नुभयो, “लकडाउन अवधिमा हुने अपराध नियन्त्रणमा प्रहरी पनि सोहीअनुसार योजना बनाएर अघि बढेको छ ।”

लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखका छुटेका छन् । “लकडाउनमा यहाँ आत्महत्या तुरुत्साहनमा दुई वटा मुद्दा दर्ता गरेर कारवाही अघि बढेको थियो ।”, प्रहरी प्रवक्ता थापाले भन्नुभयो । विगतमा पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढी नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्