धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम – Janadesh Daily | ePaper

धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम


बैतडी ः

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो । पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभयो ।

बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ । दार्चुला र बैतडीसाथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनाले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

उता, परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिनेबारे जानकारी गर्दै आइरहेको छ । यसअघि गत असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्