चैत ९ देखि गैँडा गणना – Janadesh Daily | ePaper

चैत ९ देखि गैँडा गणना


चितवन ।

कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना थालिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो चरणमा चितवन ब्लकअन्तर्गत राखिएको पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणना शुरु गर्न लागेको हो । विभागका सूचना अधिकारी पर्यावरणविद् हरिभद्र आचार्यका अनुसार चितवन र पर्सासँगै गणना गरिने छ । यसै बीचमा चैत १७ गतेदेखि बर्दियामा र १९ गतेदेखि शुक्लाफाँटामा गणना शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारै निकुञ्जमा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेबाट गैँडा गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । गणना गर्नुअघि चैत ५ देखि ७ गतेसम्म गणक, माउतेलगायत कर्मचारीलाई तालीम दिइँदै छ ।

गणनामा दुई सयबढी कर्मचारी परिचालन हुने छन् जसमध्ये १५० हाराहारी चितवन ब्लकमा परिचालन हुनेछन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जलाई चितवन ब्लकमा राखिएको छ । यस क्षेत्रमा गणनामा ४० हात्ती परिचालन गरिनेछ । बर्दिया र शुक्लाफाँटामा भने सात/आठवटा हात्ती परिचालन गरे पुग्नेछ । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।

सरकारले गत वर्ष गैँडा गणनाका लागि रु एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरीद भएकाले यस वर्ष सरकारले रु ८० लाख विनियोजन गरेको छ । दाताहरुबाट रु २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायत सङ्घसंस्थाको सहयोगमा गणना गरिँदैछ । हरेक ५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा उक्त गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने बरालले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढी छ । गणनापछि ती गैँडालाई बासस्थान व्यवस्थापन गरी पूर्वमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको बरालले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ थिए ।

सरकारले पहिलोपटक सन् १९९४ मा गैँडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गणना भएको अधिकारीले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्