‘तत्कालै तुइन काटिन्छ’ : मुख्यमन्त्री पौडेल – Janadesh Daily | ePaper

‘तत्कालै तुइन काटिन्छ’ : मुख्यमन्त्री पौडेल


हेटौँडा ।

वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । उहाँका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो ।

झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यसअघि पनि उक्त तुइन काट्न कर्मचारी खटाइएको भए पनि स्थानीयवासीको अवरोधका कारण कर्मचारी फर्किएको र उक्त गलत कार्यको नतिजास्वरुप तुइनबाट एकजना वृद्धाले ज्यान गुमाउन परेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राससलाई बताउनुभयो । तर अब तत्कालै उक्त तुइन काटिने उहाँको भनाइ छ ।

उक्त तुइनबाट खसेर मङ्गलबार एक वृद्धाको मृत्यु भएको थियो ।

बाटो बनाउन बजेट विनियोजन

मकवानपुरको राक्सिराँग गाउँपालिकाका सर्वसाधारण परेवाभिरबाट जोखिम मोलेर यात्रा गरिरहेका छन् भने सरकारले यहाँ बाटो नबन्ने जनाइसकेको छ । यो भिरबाट बाटो बनाउने मागसँगै जनताले भोग्नुपरेको विषयमा गुनासो आएसँगै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले परेवाभिरबाट बाटो नबन्ने तर उक्त भिर छलेर बाटो बनाउन बजेट विनियोजन भइसकेको राससलाई बताउनुभयो ।

उहाँले उक्त क्षेत्रका जनताको कठिनाइलाई ध्यानमा राखेर बाटो बनाउने रकम विनियोजन गरिएको बताउनुभएको हो । करिब ४४ वटा भन्दा बढी बहुवर्षीय योजनाको सडक यस आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य राखिएको मन्त्री फुयाँलको भनाइ थियो । उहाँले आगामी वर्षभित्र १०० वटा पुल निर्माण सम्पन्न गरिसक्ने र झोलुङगे पुल निर्माण गर्न स्थानीय तहलाई जिम्मा दिइने जनाउनुभयो ।

३२ पुलको एकैसाथ उद्घाटन

भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेश सरकारले निर्माण गरेको ३२ वटा पुल सञ्चालनमा आएको छ । मन्त्रालयका अनुसार उक्त पुलको कूल बजेट रु ७३ करोड ७६ लाख ४३ हजार रहेको छ ।

पूर्वाधार विकास कार्यालय ललितपुरले ६, काभ्रेले ६, चितवनले ५, नुवाकोटले ४, सिन्धुपाल्चोकले ९, रामेछापले दुई पुल निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । जसअन्र्तत काठमाडौँमा १, ललितपुरमा ५, भक्तपुरमा १, काभ्रेमा ५, सिन्धुपाल्चोकमा ५, दोलखामा ३, चितवनमा ३, मकवानपुरमा २, धादिङमा १, नुवाकोटमा ३, सिन्धुलीमा १, रामेछापमा २ गरी ३२ पुल निर्माण गरिएको जनाइएको छ ।

पुलमा पूर्वाधार विकास कार्यालय ललितपुरबाट कर्मनाशा खोला, गगटे खोला, सपनतीर्थ, धोबीखोला, खानी खोला, नखु खोला पुल बनेका छन् । सोही कार्यालयको काभ्रेबाट महादेव खोला सडक, रोशी खोला सडक, बन्थली ढाँड, रोशी खोला सडक, पुन्यमता दोभान, रोशी खोला सडक माम्ती, रोशी खोला सडक कटुञ्जे र स्वाल्पा खोला सडक पुल रहेको छ । यसैगरी चितवन कार्यालयबाट बाँदरमुढे खोला, किरुगाखोला, आँप खोल्सी सकड, दुबुखोला सडक पुल रहेको छ । नुवाकोट कार्यालयबाट खारेखोला बडरे हिमानीटार कल्भर्ट, थोपलखोला, कुथुङ्ग खोला पुल रहेको छ ।

सिन्धुपाल्चोक कार्यालयबाट हाँडी खोला, महादेश खोला, सिपा खोला, खहरेखोला, ढाँडे खोला, सोरुङ्ग खोला, ढाँडे बाराम्चभी खोला, पाखरखोला, अँधेरी खोला र चर्नावती खोला रहेको छ । पूर्वाधार विकास कार्यालय रामेछापबाट वाक्सु खोला र भटौती खोला पुल रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्