जनादेश कास्की ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निर्माणाधीन भवनको आज अवलोकन गर्नुभएको छ ।
पोखराको पृथ्वीचोकमा नागरिकस्तरबाट रु दुई करोडको लागतमा निर्माणाधीन भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
तत्कालीन पोखरा उपत्यका नगर विकास समितिद्वारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा व्यवसायी दिलीप श्रेष्ठको नेतृत्वमा निर्माण समिति बनाएर काम थालिएको हो ।
हाल ट्राफिक प्रहरी कार्यालय बसेको भवन जीर्ण बन्नुका साथै आवासको पनि समस्या भएको अवस्थालाई दृष्टिगत गरी सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण कार्यमा पोखरा महानगरपालिकालगायत विभिन्न सङ्घ संस्था एवम् व्यक्तिले सहयोग गर्नुभएको निर्माण समितिका सल्लाहकार शिब बस्ताकोटीले बताउनुभयो ।
अवलोकनपछि मन्त्री चुमानले निर्माण कार्य सम्पन्न गराउन प्रदेश सरकारका तर्फबाट यथाशाक्य आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वाधारको अभावमा काममा पनि मनोबल नआउने उल्लेख गर्दै उहाँले निर्माणमा खट्ने र सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने कुरामा आफू सधैँ सकारात्मक भएको र त्यस अनुसार पहल जारी राख्ने बताउनुभयो । रासस