सामाजिक संस्थाका एम्बुलेन्स व्यक्तिलाई ठेक्का – Janadesh Daily | ePaper

सामाजिक संस्थाका एम्बुलेन्स व्यक्तिलाई ठेक्का


उमा केसी, रोल्पा

Local levels in Banke without ambulance facilities - myRepublica ...
विभिन्न सामाजिक संस्थाले सञ्चालन गर्ने भनेर खरिद गरिएका अधिकांश एम्बुलेन्स व्यक्तिले ठेक्कामा लिएर सञ्चालन गरेका छन् ।

सामाजिक सेवाका लागि बिरामी बोक्ने भनेर सङ्घसंस्थाले सञ्चालन गर्न खरिद गरिएका एम्बुलेन्सको भन्सार शुल्क पूर्णरुपमा छुटमा आयात गरिएको हुन्छ । न्यून शुल्कमा स्वास्थ्य सेवा दिनका लागि ल्याइएका एम्बुलेन्स विभिन्न बहानामा व्यक्तिलाई ठेक्कामा दिएर सञ्चालकले मनपरी भाडा असुल्दा सेवाग्राही मर्कामा परेका राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष कृष्णकुमार नेपालीले बताउनुभयो । “युवा सङ्घले एम्बुलेन्सको सेवा सुधारका विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको छ, तर कार्यान्वयन भएन”, उहाँले गुनासो गर्नुभयो ।

बिरामीका आफन्तले एम्बुलेन्सलाई फोन गर्दा ठेक्कामा लिएका सञ्चालहरुले टाढा, नजिकको दूरी, बिग्रिएको लगायत विभिन्न बहाना गरी सेवा नदिएको समेत अध्यक्ष नेपालीले बताउनुभयो । गैरकानुनी रुपमा व्यक्तिलाई एम्बुलेन्स ठेक्कामा दिन नपाइनेसमेत उहाँले बताउनुभयो ।

सनस्टार युवा क्लबद्वारा खरिद गरिएको एम्बुलेन्स स्थानीय दीपक डाँगीले दुई वर्षदेखि सञ्चालन गर्दै आउनुभएको छ । “दुई वर्षदेखि एम्बुलेन्स म आफैँले चलाइरहेको छु, कुनै हिसाब किताब भएको छैन, बसेर हिसाब गर्नुछ”, डाँगीले भन्नुभयो, “बिग्रिएको बेला आफैँ मर्मत गर्छु, कुनै लिखित, मौखिक सम्झौता पनि भएको छैन, अहिलेसम्म चलाइरहेको छु, लकडाउनले गर्दा बैठक पनि बसेको छैन ।”

जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले कार्यविधि बनाई तोकेको भाडाभन्दा धेरै नलिने गरी ठेक्कामा दिनसकिने बताउनुभयो । ठेक्कामा लिएका एम्बुलेन्स चालकले भने कार्यविधि विपरीत दोब्बर भाडा असुलेको गुनासो आएको उहाँले बताउनुभयो । “लिखित रुपमा उजुरी आएको छैन, मौखिक रुपमा जानकारी आएको छ, प्रमाणसहित दोब्बर भाडा असुलेको उजुरी आए कारवाही हुन्छ”, रानाले भन्नुभयो ।

संस्थाका पदाधिकारीबाट सञ्चालन गर्न गाह्रो हुने भएकाले एकै व्यक्तिलाई जिम्मेवारी दिएको सयपत्री सहकारी संस्था लिमिटेड इरिवाङका अध्यक्ष सूर्य डाँगीले बताउनुभयो । उहाँले सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिकै रेखदेखमा गाडी रहने र आयव्ययका स्रोत पनि राम्रो तरिकाले रहने गरी सेवाग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले जिम्मा लगाइएको डाँगीले बताउनुभयो ।

जिल्लामा हाल सनस्टार युवा क्लब लिवाङ, माडी जलजला युवाक्लब जङ्कोट, सूर्योदय सहकारी संस्था लिमिटेड सुलिचौर, सयपत्री सहकारी संस्था लिमिटेड इरिबाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, स्मृति अस्पताल प्रालि घर्तीगाउँ, परिवर्तन गाउँपालिका, स्वास्थ्य चौकी तेवाङ, स्वास्थ्य चौकी गजुल, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर, प्राथमिक स्वास्थ्य केन्द्र होलेरी, स्वास्थ्य चौकी थवाङ र रोल्पा अस्पताल रेउघालेलगायतका सरकारी निकाय र सङ्घसंस्था गरी १३ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

प्रहरी सामुदायिक सेवा समितिको एम्बुलेन्स भने अहिले सञ्चालनमा छैन । अहिले रोल्पा नगरपालिका, माडी गाउँपालिका, लुग्री गाउँपालिका र गङ्गादेव गाउँपालिकाका एम्बुलेन्स सञ्चालन प्रक्रियामा रहेका छन् । सरकारी स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स आफैँले सञ्चालन गरे पनि अधिकांश क्लब र सहकारीले लिएका एम्बुलेन्स भने भाडामा दिएका छन् ।

भाडामा दिएका एम्बुलेन्सले सेवाग्राहीलाई बिलसमेत नदिएको सेवाग्राहीले बताएका छन् । अहिले अप्ठ्यारो परिस्थिति भएकाले आएको उजुरीमाथि छानबिन गरी कारवाही गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताउनुभयो । “केही समयपश्चात हामीले समितिको बैठक बसी समस्याको समाधान गर्छौँ”, उहाँले भन्नुभयो ।

कोरोना कहरको विषम परिस्थितिमा विभिन्न बहानामा सर्वसाधरणमाथि आर्थिक भारपर्ने गरेको अधिकारकर्मी तुलसा आचार्यले बताउनुभयो । यस विषयमा तत्काल छानबिन गरी कानुनी दायरामा लिइ सर्वसाधारणले न्यून शुल्कमा एम्बुलेन्स सेवा उपभोग गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने आचार्यको भनाइ छ ।

सरकारले कमजोर आर्थिक अवस्था भएका सेवा ग्राहीलाई न्यून शुल्कमा एम्बुलेन्स सेवा दिनका लागि भन्सार पूर्णरुपमा छुट गरेता पनि नागरिकको प्रत्यक्ष स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रसँग जोडिएको एम्बुलेन्स सेवा कमाउ धन्दाका रुपमा लिएको प्रति नागरिक अगुवाहरुको गुनासो छ । रासस)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्