चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा – Janadesh Daily | ePaper

चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा


जनादेश चितवन ।

नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ ।

नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् ।

यस अघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो ।

आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्द्रमा पालैपालो रोमियो र ध्रुवेले प्रजनन् गराउँदै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार विसं २०६५ कात्तिक २१ गते यो जुम्ल्याहा जोडी जन्मिएको हो । हात्तीको जुम्ल्याहा दुर्लभ हुने गर्दछ । रुपाखेतीले भन्नुभयो, “मैले थाइल्याण्डमा जुम्ल्याहा जन्मिएको तर बचाउन नसकिएको सुनेको थिए, अरु ठाउँमा सुनेको छैन ।” उहाँको भनाइमा जुम्ल्याहा जन्मिएर बाँचेको सम्भवत यो पहिलो र एक मात्र हो ।

हाल राम सौराहाको हात्तीसार र लक्ष्मण कसराको हात्तीसारमा रहेका छन् । उनीहरुलाई तीन वर्ष छ महिना पुगेपछि विनोद चौधरी नाम गरेका दुई जना कर्मचारीले तालीम दिएका हुन । तालीमपछि निकुञ्ज सुरक्षामा यी दाजुभाई जुटिरहेका छन् । राम दाजु हुन भने लक्ष्मण भाई हुन् । १२ वर्ष हुन लाग्दा यी दाजुभाईको फोटो नेपाली एक हजार रुपैयाँको नोटमा छापिएको छ ।

अहिले छापिए पनि झण्डै सात वर्ष अघि उनीहरुको फोटो खिचिएको हो । त्यतिबेला करिब पाँच वर्षको उमेरका राम–लक्ष्मणको फोटो अहिलेको नेपाली नोटमा आएको बताइएको छ ।

यी दुवै भाले हात्ती हुन । हात्तीको भालेलाई गज र पोथीलाई कली भनिन्छ । (रासस) :

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्