महेन्द्रनगर ।
सुदूरपश्चिमको डडेल्धुरामा परापूर्वकालदेखि मनाइँदै आएको रुपाली होली कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा पनि धुमधामका साथ मनाइँदै छ ।
डडेल्धुराको रुपालबाट बसाइँ सरी भीमदत्त नगरपालिका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका रुपाली समुदायले पुस्तौली रुपाली होलीलाई हरेक वर्ष यहाँ मनाउँदै आएका छन् । गत वर्षदेखि कोरोना कारण प्रभावित हुँदै आएको भए पनि यस वर्ष पनि स्वास्थ्य सुरक्षालाई समेत ख्याल गर्दै यहाँ होलीलाई नितरन्तरता दिइएको छ ।
पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन छ । पछिल्लो समय पहाडबाट बसाइँ सरेर कञ्चनपुरमा बसोबास गर्दै आएका विभिन्न समुदायले आ–आफ्नै ढङ्गले होली पर्व मनाउँदै आएका छन् ।
कञ्चनपुरमा दार्चुला, बैतडी सुमदायको एक किसिमको होली छ भने डडेल्धुराको रुपाली होली छुट्टै छ । त्यसैगरी, अछामी समुदायको होली पनि भिन्न तरिकाले मनाइने गर्दछन् । होलीमा विशेषगरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने प्रचलन छ ।
सो अवसरमा पौराणिक, धार्मिक, राजनीतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ । होलीको दिन ठूलाबाट सानाले आशीर्वाद लिने चलनसमेत रहेको रुपाली होली समितिका अध्यक्ष डम्बरदत्त भट्टको भनाइ छ ।
उहाँले परम्परागत रुपमा संकृतिको संरक्षणका लागि रुपाली होली पर्व मनाउँदै आएको बताउनुभयो । “पहिलेदेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै हामीले होली मनाउने गरेका छौँ”, भट्टले भन्नुभयो, “पछिल्लो समय हाम्रो परम्परा हराउँदै गएको अहिलेका युवापुस्ताले यसको संरक्षण गर्नु आवश्यकता महसुस गरिएको छ ।”
उहाँले २०१८ सालदेखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न भागमा बसाइँ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट बसाइँ सरेकाहरु यहाँ भव्य रुपमा होली मनाउँदै आएको जानकारी दिनुभयो । यहाँको बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी शुरु भएको रुपाली होली पूर्णिमा आजका दिन मन्दिरमा पुगेर विसर्जन हुनेछ ।
होली खेलेर सङ्कलन भएको रकम बैजनाथ मन्दिरकै भौतिक संरचना निर्माणदेखि मर्मतसम्भारसम्म खर्च गर्दै आएको अध्यक्ष भट्टले बताउनुभयो ।
त्यसैगरी, तराई र भारतबाट व्यापारका सिलसिलामा यहाँ आएका भारतीयले समेत बिहानदेखि होली मनाइरहेका छन् । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रल्हानसँग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएकी थिइन् र विष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन शुरु भएको स्थानीयवासी पुरुषोत्तम जोशीको भनाइ छ ।
वर्तमान समयमा पश्चिमा संस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेकोप्रति पाकापुस्ता चिन्तित बनेका छन् । पछिल्लो समय होली पर्वलाई रङ खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको जोशीको भनाइ छ । “अहिले रङहरु खेल्नुलाई मात्रै होलीका रुपमा लिइन्छ त्यसो होइन”, उहाँले भन्नुभयो, “परम्पराअनुसार होलीमा लोक बाजाका साथ विभिन्न किसिमका लोकगाथा अभिनयका साथ प्रस्तुत हुन्छन् ।”
राना थारूको होली शुरु
त्यसैगरी कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले पनि सोमबारदेखि विधिवत् रुपमा परम्परागत होली खेल्न शुरु गरेका छन् । कुनै समय एक महिनासम्म आफ्नो पहिरन र आफ्नै भाषामा विभिन्न गीतहरु गाएर समूहमा खेलिने राना थारू होलीमा पछिल्लो समय डिजेलगायत म्युजिकको पनि साथ लिने गरिएको छ । यहाँको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले होरी पर्वका अवसरमा आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम रहेको बताउनुभयो ।
“चोरेको गुइँठा र तोरीको डाँठ थुपारेर होलीका बनाई चीर दहन गर्ने चलन पनि छ”, रानाले भन्नुभयो, “होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराई गरेर विसर्जन गरेपछि विधिवत् रुपले होली सकिन्छ ।”
जीवन शैली परिवर्तन भएसँगै समुदायको मौलिक पर्व लोप हुने चिन्ता रहेको स्थानीयवासी राना थारू अगुवाहरुमा चिन्ता छ । विभिन्न राना थारू समिति, युवा क्लबहरुले यतिबेला यहाँका थारू बस्तीहरुमा होली आयोजना गरी कलासंस्कृति र परम्पराको संरक्षणमा जोड दिइरहेका राना थारू घरबास (होमस्टे)का सचिव चेतराम रानाको भनाइ छ ।
होली पर्वमा वर्षदिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्टान्न खाने गरेको उहाँको जानकारी दिनुभयो । युवायुवतीले रातिको समयमा होरी नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ । राना थारू समुदायले एक साताभन्दा बढी समयसम्म होली मनाउने गरेका छन् ।