जनादेश सोसल मिडिया वाच ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि एमालेमा सामाजिक सञ्जालमा आधारित साइवर युद्ध सुरु भएको छ । संस्थापन ओली गुटका नेताहरुले त्यसलाई प्रतिशोधकोरुपमा व्यक्त गरेका छन् भने नेपाल समूहका नेताहरूले प्रतिवाद गरेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही उल्टिने बताएका हुन् । ट्वीटमार्फत उनले कारबही कमजोर सत्ताको अस्त्र भएको बताए । उनले यो निर्णयबाट फर्किन पनि ओलीलाई आग्रह गरेका छन् ।
‘कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो । परिणाम उल्टो हुने निश्चित छ । फर्कनु नै कल्याण हुने छ’ उनले भनेका छन् । उनको दाबी छ, ‘कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’
कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !
— Yogesh Bhattarai (@yogesbhattarai) March 29, 2021
नेपाल पक्षका नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजनको बाटो कोर्न सुरु गरेको आरोप लगाएका छन्। कारबाहीको निर्णयले एमालेलाई एकता होइन, फुटतर्फ धकेलेको नेता गैरेले बताएका छन् । साथै उनले कारबाही होइन, संवादको बाटो रोज्न अध्यक्ष ओली पक्षलाई आग्रह गरेका छन्।
‘एकता, संघर्ष र रूपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ। नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी सञ्चालन हुनुपर्छ,’ नेता गैरेले लेखेका छन्, ‘कारबाहीको बाटो होइन, संवादको बाटो रोजौं।’
यसै क्रममा नेपाल निकट नेत्री रामकुमारी झाँक्रीले अरूलाई अपमान र कारबाही गर्नु कमजोरहरूको अन्तिम अस्त्र भन्दै कारबाही गर्ने पक्षलाई चेतावनी दिएकी छन्।
सांसदसमेत रहेकी नेत्री झाँक्रीले नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएको दिन सोमबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो– जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने। हेक्का होस्– पृथ्वी गोलो छ।’
कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।
— Ram kumari Jhakri (@Jhakri_didi) March 29, 2021
उता ओली पक्षका नेताहरुले भने नेपाल र रावललाई निलम्बन गर्नुलाई ओली पक्षका नेताले बदलाकोरुपमा अर्थ्याएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रामक टिप्पणी गरेको लगत्तैजसो प्रधानमन्त्रीकै विश्वास पात्र मानिने पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले पनि त्यस्तै किसिमको प्रतिक्रिया व्यक्त छन्।
कारबाही गरिएको भन्ने खबरपछि माधवकुमार नेपालले एमाले बनाउन ओलीकै भूमिकै थिएन भनेर प्रतिक्रिया दिएको भन्दै ओली समूहका नेता बास्कोटाले नेता नेपाललाई नेकपा हुँदा अध्यक्ष ओलीलाई के हैसियतामा कारबाही गरेको भनेर प्रश्न गरेका हुन्।
त्यसअघि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले नेपाल र रावललाई गरिएको निलम्बन पहिले नेकपामा छँदा आफूहरूलाई गरिएको कारबाहीजस्तो स्पष्टीकरण नै नसोधी नगरिएको टिप्पणी गरेका थिए ।
अध्यक्ष ओलीले नेताहरू नेपाल र रावललाई पार्टी सदस्यताबाट ६/६ महिना निलम्बन गरेको दिन सोमबार साँझ सामाजिक सञ्जालमार्फत थापाले उनीहरूलाई विधि र प्रक्रियाबमोजिम कारबाही गरिएको दाबी गरेका हुन्।
‘नेकपा (एमाले) को साधारण सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरिएको छ– १. माधवकुमार नेपाल २. भीम रावल, पिएचडी,’ एमाले केन्द्रीय सदस्य थापाले लेखेका छन्, ‘स्पष्टीकरण सोधी विधि, पद्धति र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको छ। जब कि प्रचण्ड–नेपालले स्पष्टीकरण नै नसोधी कंगारू कोर्टले जस्तै हामीलाई कथित निलम्बन गरेका थिए।’
ओली समूहका नेता शंकर पोखरेलले पार्टीको परम्परा र विधान ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले कारबाहीको निर्णयले सबैको हित गर्ने दाबीसमेत गरेका छन्।
‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन,’ नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएकै दिन सोमबार राति पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी अनुशासनले सबैको हित गर्छ।’