जनादेश सोसल मिडिया वाच ।
लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले केपी ओली नेतृत्वको सरकारप्रति विरक्ति मिश्रित व्यङ्ग्य गरेका छन् । मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढेको भए पनि नागरिकको सुरक्षाका लागि सरकारले कुनै चासो नदिएको भन्दै संग्रौलाले ओली सरकारलाई चटके सरकारको सज्ञा दिएका हुन् ।
कोरोनाविरुद्ध परीक्षण बढाउने तथा खोप ल्याउनेतिर तत्परता देखाउनु सट्टा सरकार नागरिकलाई लकडाउनको त्रास देखाइरहेको साहित्यकार संग्रौलाको टिप्पणी छ।
महामारीले टाउको उठाइरहेका बेला आफ्ना उपलब्धि गन्नमै मस्त रहेको आरोप लगाउँदै लेखक संग्रौलाले ओली सरकारलाई ‘चटके सरकार’को संज्ञासमेत दिएका छन्। साथै उनले नेपाली मतदाताले यस्तो सरकारलाई कसरी मत दिएछन् भनेर आश्चर्य पनि व्यक्त गरेका छन्।
‘कोरोना संक्रमण फेरि ह्वात्तै बढ्यो। आफ्ना अनुपम उपलब्धिहरू गन्नमै मस्त सरकारको न खोप ल्याउने तत्परता छ न परीक्षण बढाउने चेष्टा छ,’ संग्रौलाले मंगलबार बिहानै ट्विट गरेका छन्, ‘सरकार त फेरि लकडाउन लाउनुपर्ला है भनेर जनतालाई थर्काउँदै पो छ। पाइनसक्नु चटके सरकारचैं दूरदर्शी नेपाली मतदाताले बुद्धि पुर्याएरै बनाएका हुन् बा !’
काेराेना संक्रमण फेरि ह्वात्तै बढ्याे।आफ्ना अनुपम उपलव्धिहरू गन्नमै मस्त सरकारकाे न खाेप ल्याउने तत्परता छ न परीक्षण बढाउने चेष्टा
छ।सरकार त फेरि लकडाउन लाउनुपर्ला है भनेर जनतालाई थर्काउँदै पाे छ।पाइनसक्नु चटके सरकारचैँ दूरदर्शी नेपाली मतदाताले बुध्दि पुय्राएरै बनाएका हुन् बा!— Khagendra Sangroula (@belakoboli) April 6, 2021
खगेन्द्र संग्रौला ओली सरकारको कडा आलोचककारुपमा रहँदै आएका छन् । उनले ओली सरकारले नागरिकको आवाज सुन्नुको साटो सर्वसत्तावाद देखाइरहेको भन्दै उनलाई विस्थापित गर्नुपर्ने बताउँदै आएका छन् । नागरिक डबलीमा आयोजित कार्यक्रममा पनि संग्रौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेता महन्थ ठाकुरसँग ओली हटाउन किन निर्णायक कदम नचालेको भनेर प्रश्न गरेका थिए ।