जनादेश, काठमाण्डौ । हावाहुरीसँगै बिहीबार राति चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा एक बालिकासहित तीनजनाको ज्यान गयो । चारजना घाइते भए ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबारको चट्याङले भोजपुरको षडानन्द नगरपालिका– ८ निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका– ६ असिनेकी नौ वर्षीया रोहिता मगर र बाग्लुङको ताराखोला गाउँपालिका– २ सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेलले ज्यान गुमाए ।
पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय बनेका वेला वायु पूर्व–उत्तर सर्दै गर्दा बिहीबार साँझ र राति भीषण हावाहुरी चलेको थियो । हावाहुरीसँगै चट्याङ खस्दा घरमै रहेका राई र मगरले ज्यान गुमाएका थिए भने गोठमा जाँदै गर्दा कँडेललाई चट्याङ लागेको थियो ।
१७ फागुनमा प्रिमनसुन सुरु भएयता मुलुकका कुनै न कुनै ठाउँमा दैनिकजसो चट्याङ परिरहेको छ । यो विद्युतीय तरंग हो, त्यसबाट विद्युतीय विस्फोटन हुन्छ । ‘बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ,’ चट्याङविज्ञ श्रीराम शर्माले भने ।