जनादेश हेल्थ डेस्क ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा छुट्टाछुट्टै जारी आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
लकडाउनकै जस्तो निषेधाज्ञा जारी भएपनि विज्ञहरुले भने लकडाउन गर्न ढिलो गरिएको भन्दै अझै केही कुरामा गम्भीर ध्यान दिन सुझाव दिएका छन् । जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले दिएको सुझाव यस्तो छः
कोरोना महामारीको दोस्रो लहरलाई गत सालको जस्तो कमजोर ठान्नु मूर्खता हुनेछ। हामीले गल्तीमाथि गल्तीका चाङ थप्दै नगएको भए यो अवस्था आउने थिएन।
कोरोना महामारी नियन्त्रणबाहिर जाँदै छ। महामारी कुन स्तरमा छ भन्ने कुरा देशका अस्पताल हेरे थाहा हुन्छ।
आम नागरिकले बेड, अक्सिजन, आईसीयू तथा रेम्डेसिभिरलगायत औषधि पाउन मुस्किल भएको छ। कोरोना महामारीको दोस्रो लहरलाई गत सालको जस्तो कमजोर ठान्नु मूर्खता हुनेछ। हामीले गल्तीमाथि गल्तीका चाङ थप्दै नगएको भए यो अवस्था आउने थिएन।
हरेक समस्याका समाधान हुन्छन्। समाधान रूखबाट झर्दैन। यसका लागि मनैदेखि लाग्नुपर्छ। सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारतलगायत मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझनपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने/गर्ने गर्थ्यौं।
१ वर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडियालगायत देशमा जस्तै दैनिक गतिविधि गर्न सक्थ्यौं। नेपालमा यो अवस्था आउनाको प्रमुख कारण आम नागरिकको लापरबाही र जनस्वास्थ्य मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय गराउन नसक्नु हो। सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला।
अब हामीसँग विकल्प साँघुरा हुँदैछन्। आम नागरिकको जीवनभन्दा ठूलो केही हुँदैन। त्यो पर्नेलाई थाहा हुन्छ। १५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ। गत सालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने कुनै अर्थ छैन।
लकडाउन गर्नुपरे तलको मोडलमा गरौं, अन्यथा भारतका धनाढ्यले जहाज चार्टर गरेर विदेश भागेझैं गाउँतिर लागौं।
१. २/३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ।
२. लकडाउन केवल ३ हप्ता गर्नुपर्छ। २० दिन पनि हैन, २२ दिन पनि हैन। ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर व्यापक प्रहरी परिचालन गर्ने, माइकिङ गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने।
३. त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्छ।
४. स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा व्यापक फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आईसीयू थप्ने, अक्सिजन बेड थप्ने, आईसीयू तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्नेलगायत काम गर्नुपर्छ।
५. सूचना तथा सञ्चार र शिक्षा मन्त्रालयले जनचेताका लागि कार्यक्रम उत्पादन तथा प्रसारण/प्रकाशन गर्ने।
६. परराष्ट्र मन्त्रालयले खोपका लागि चीन, रुस, कोभ्याक्ससँग कूटनीतिक पहल गर्ने तथा भारतलगायत देशमा फसेका नेपालीको उपचार र उद्धारका लागि पहल गर्ने।
७. मिडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्तीर गल्ली/चोक आदिमा आवतजावत कस्तो छ? प्रहरी परिचालन कस्तो छ? त्यसको निगरानी राख्ने।
८. सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसँग समन्वय गरेर काम गर्ने।
९. सिमानाका पूर्ण रूपमा सिल गर्नुपर्छ।
१०. आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्किँदा अनिवार्य सही तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने।
११. सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्ना क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्छ।
१२. यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठीक हुन्छन्, कि अस्पताल जान्छन्। तर समुदायमा संक्रमण सार्न सक्दैनन्। यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ। ३ हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड/जरिवाना गर्ने तथा कडाइ गर्ने।
यो पटकको लकडाउन छोटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौं। यसपटकको प्रजाति निकै संक्रामक र घातक छ। १ जनाले पनि नजरअन्दाज नगरौं।
यो पनि हेर्नुस्- मन्त्रिपरिषद् र उपत्यकाका तीन जिल्ला प्रशासनका निर्णयः यी हुन १६ गतेपछि बन्द हुने क्षेत्रहरु