आइपिएल क्रिकेटः दिल्लीलाई एक रनले हराउँदै बैंगलोर फेरि शीर्ष स्थानमा – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः दिल्लीलाई एक रनले हराउँदै बैंगलोर फेरि शीर्ष स्थानमा


जनादेश स्पोर्ट्स ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बेंग्लोरले एबी डेभिलियर्सको अर्धशतकीय पारीको मद्दतमा १७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । आइपिएलमा बेंग्लोरविरुद्ध पछिल्लो पाँच म्याचमा दिल्ली पहिलो पटक पराजित भएको हो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले अविजित ५८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । दिल्लीका मध्यक्रमका ब्याट्सम्यान शिमरन हेटमायरले पनि विस्फोटक ब्याटिङ गर्दै २५ बलमै ५३ रन बनाएका थिए । यस्तै, मार्कोस स्टोइनिसले २२ र पृथ्वी शाले २१ रन बनाए ।

बेंग्लोरका लागि हर्षल पटेलले २, केल जेमिसन र मोहम्मद सिराजले एक÷एक विकेट लिए । उता, बेंग्लोरका लागि डेभिलियर्सले ४२ बलमा ७५ रन बनाए । उनले तीन चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कलले १७ र विराट कोहलीले १२ रन बनाए । दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, अवेश खान, कसिगो रबाडा र इशान्त शर्माले एक/एक विकेट लिए ।

६ वटा खेल समाप्त हुँदा बेंग्लोरले पाँच जित र एक पराजयका साथ १० अंक बटुलेर अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा चार जित र दुई पराजयका साथ दिल्ली तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको चेन्नईले पाँच खेलमा चार जित र एक पराजयका साथ ८ अंक बटुलेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्