जनादेश काठमाण्डौ ।
वर्षातको समयमा स्क्रब टाइफस रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन ।
अहिले धेरैको ध्यान कोरोनामा केन्द्रीत भएकाले स्क्रब टाइफस लगायतका अरु रोगको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।
स्क्रब टाइफस रोगका बिरामी भेटिन थालेका उहाँले जानकारी दिनुभयो । गएका वर्षमा यो बेला स्क्रब टाइफसका बिरामी धेरै हुने गरे पनि यो वर्ष कोरोनाको डरका कारण मानिस अस्पताल नपुगेका हुनसक्ने उहाँले बताउनुभयो ।
ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्नेलगायतका लक्षण स्क्रब टाइफसको हो । यी लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो हुने भएकाले कतिपयले रोग लुकाएर अस्पताल नगएको पनि हुन सक्ने उहाँको भनाइ छ ।
कोरोना भाइरसको कारण हुने मृत्युदरभन्दा स्क्रब टाइफसका कारण हुने मृत्युदर बढी भएकाले रोग नलुकाउन र अस्पताल गइहाल्न डाक्टर पुनको आग्रह छ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातीको सूक्ष्म कीराको माध्यमले स्क्रब टाइफस मानिसमा सर्ने गर्छ ।
घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउनेलगायतका सावधानीका अपनाउँदा स्क्रब टाइफसबाट बच्न सकिने डाक्टरले बताएका छन ।