जनादेश सोसलमिडिया वाच ।
जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक ध्रुवीकरण तीव्र भएकाले अब भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनुपर्ने बताएका छन् ।
आफ्नै पार्टीको सम्भावित विभाजनतर्फसमेत संकेत गर्दै बाबुरामले एउटै पार्टीभित्र दुई धारको नेतृत्व गरिरहेका नेताहरुलाई आआफ्नो बाटो लाग्न आग्रह गरेका छन् । उनले समयले नयाँ ध्रुविकरण खोजिरहेको बताउँदै अब विचार मिल्नेहरु एकातर्फ लाग्ने बेला भएको बताएका छन्।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो। नयॉ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ,’ पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ। हातमिलाएर आआफ्नो बाटो लागौं। हिडिरहे फेरि भेटहुनेछ।’
अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!
— Baburam Bhattarai (@brb1954) May 30, 2021
यसअघि बाबुराम भट्टराईले अर्काको स्वार्थ सिद्ध गर्नका लागि पार्टी विभाजनको बाटोमा नलाग्न अपिल गरेका थिए ।
आफ्ना पार्टीका नेतालाई संविधान मास्न खोज्ने शक्तिको मतियार नबन्न आग्रह गर्दै बाबुरामले नेपालको संविधान आधा भरी आधा खाली गिलास भएको र आफूहरु पूरै भर्न हिँडेको सम्झाएका थिए ।
बाबुराम संघीय परिषद् अध्यक्ष रहेको जसपा अहिले प्रष्ट दुई धारमा विभाजित छ। जसपामा भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव अहिले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा छन्। उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदल्न लागिरहेका छन् भने जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह ओलीसँग मिलेर सरकारमा समेत सहभागी हुने अन्तिम तयारीमा छ।