ओली गुटमा लागेका रिजालको चेतावनीः यस्तै हुँदा इन्दिरा गान्धीले संकटकाल लगाएकी थिइन् ! – Janadesh Daily | ePaper

ओली गुटमा लागेका रिजालको चेतावनीः यस्तै हुँदा इन्दिरा गान्धीले संकटकाल लगाएकी थिइन् !


जनादेश सोसल मिडिया वाच ।

हालै मात्र माधव नेपालको साथ छोडेर एमाले संस्थापन अर्थात् केपी ओली गुटमा प्रवेश गरेका नेता विष्णु रिजालले विपक्षी गठबन्धनलाई संकटकाल लाग्ने घुमाउरो चेतावनी दिएका छन् ।

विपक्षी गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेपछि आपत्ति जनाउँदै रिजालले यस्तो चेतावनी दिएका हुन् ।

रिजालले फेसबुकमा लेखेका छन्, “विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र त्यही सरकारको मातहतमा आइहाल्छ । प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीब्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ‘सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक छ । सन् ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै गैरजिम्मेवार आह्वान गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाउने वातावरण बनेको इतिहास हाम्रो नजिकै छ ।”

आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिइएको थियो ।

रिजालले लेखेका छन्, ‘राजनीतिक प्रक्रिया आफ्नो ठाउँमा छ, राजनीतिज्ञहरुले राजनीतिमाथिको नियन्त्रण गुमाएपछि मुद्दा अदालतमा विचाराधीन छ । जे निर्णय हुन्छ, मान्नु छँदैछ । तर, राज्य महामारीसँग जुधिरहेका बेला सबै मिलेर सहयोग गर्नुपर्नेमा यस्तो आह्वान गर्नुले राम्रो संकेत गरेको छैन । देश चलाइसकेका नेताहरुले राज्य र सरकारबीचको फरक छुट्याउन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।’

विपक्षी गठबन्धनले सर्वोच्च अदालतले संविधान जोगाउने अपेक्षा पनि राखेकव छ । संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्