जनादेश काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ । रासस