अन्तिम अस्त्र खोज्दै ओलीः बालुवाटारमा किन गरियो भीम रावलसँग मन्त्रणा ! – Janadesh Daily | ePaper

अन्तिम अस्त्र खोज्दै ओलीः बालुवाटारमा किन गरियो भीम रावलसँग मन्त्रणा !


जनादेश अपडेट ।

सर्वोच्च अदालतले संसद व्युउँताउने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली र उनको गुट एमालेका सांसदहरुको समर्थन शेरबहादुर देउवालाई नहुने सुनिश्चितता गर्न लागि परेका छन् ।

उनीहरुले जसरी पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवाले गरेको दाबी तुहाउने पक्षमा छन् । यसैकारण उनीहरु माधव नेपाललाई फकाउन सबै प्रयास लगाइरहेका छन् । उनीहरुको पहिलो शर्त अदालतमा बुझाएको एमाले सांसदको हस्ताक्षर फिर्ता लिनु पर्ने भन्ने छ ।

तर यसो गर्न वरिष्ठ नेता माधवकुमार नेपाल तयार नभएपछि बालुवाटारले भीम रावललाई अन्तिम अस्त्रकोरुपमा लिएको छ । बालुवाटारले बोलाएपछि आइतबार राति नेता रावल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।


नेपाल पक्षधर रावल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘वार्ता’का लागि भनेर बालुवाटार पुगेका जनाइएको छ। आइतबार बिहान मात्रै अध्यक्ष ओली पक्षीय नेता विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए।

पौडेलले ओलीसँग भेटवार्ता गर्न भनेपनि नेपालले भने उक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए।

शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिन नेपाल समूहका २३ जना सांसदलाई ३ दिनको अल्टिमेटम दिएको थियो।

हस्ताक्षर फिर्ता लिनका लागि दिइएको ३ दिने अल्टिमेटमको समय सकिनु अगाडि अघिल्लो दिन बेलुकी रावल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

ओलीका निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका नेता रावल आफैं उनलाई भेट्न गएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। रावल यसअघि एमालेले बनाएको विवाद समाधान कार्यदलमा माधवकुमार नेपाल पक्षका संयोजक थिए। तर, प्रतिनिधि सभा विघटनपछि रावलसहित ११ नेतालाई ओलीले कारबाही गरेपछि कार्यदल निष्क्रिय भएको थियो। रावलबाहेक कार्यदलमा रहेका अन्य नेताहरू भने एमाले एकताका लागि निरन्तर संवादमा बस्ने गरेका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्