वरिष्ठ सङ्गीतकार जोशीको निधन    – Janadesh Daily | ePaper

वरिष्ठ सङ्गीतकार जोशीको निधन   


जनादेश संवाददाता,

हेटौँडा । वरिष्ठ सङ्गीत उस्ताद भोला जोशीको आज निधन भएको छ ।

रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको नेतृत्व गरिसक्नुभएका जोशीको ८० वर्षका उमेरमा आज हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिनुभयो ।

दम, मधुमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बस्नुभएको थियो । विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत सिर्जनामा लाग्नुभएका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मी बताउँछन् ।

हालका चर्चित सङ्गीतकार चेतन सापकोटा, शिखर सन्तोषलगायत थुप्रै गायकगायिकालाई सङ्गीत प्रशिक्षण दिनुभएका जोशी शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।

नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकसँग रहेर सङ्गीत सिर्जना, वाद्यवादन तथा गायनमा लामो समयसम्म योगदान दिनुभएका जोशीको निधनले देशको सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकार सापकोटा बताउनुहुन्छ ।

“सङ्गीतको कखरा सिकाउनुहुने गुरुको निधनले दुखित बनाएको छ”, उहाँले भन्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्