काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ। त्यसका लागि आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल गरिने उनले बताए।
साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए ।
यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।
यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ३१ गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरु खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।
यसैगरि जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरु भेला, जम्मा हुन, भिडभाड गर्ने सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर बन्देज लगाइएको छ । विवाह तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । साथै, शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न रोक लगाइएको छ ।