एमालेमा ओली रक्षात्मक बन्दा नेपाल आक्रामक, सके ओलीलाई हटाउने, नसके नयाँ पार्टी – Janadesh Daily | ePaper

एमालेमा ओली रक्षात्मक बन्दा नेपाल आक्रामक, सके ओलीलाई हटाउने, नसके नयाँ पार्टी


जनादेश वाच ।

सत्ता ढलेपछि नेकपा एमालेको संस्थापन मानिएको केपी ओलीको पक्ष निक्कै रक्षात्मक अवस्थामा पुगेको देखिएको छ । शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न विश्वासको मत दिएका संसद सदस्यहरुसँग २४ घण्टे स्पष्टीकरण सोधेपनि ओलीले मंगलबार कारवाही गर्ने निर्णय गर्न सकेनन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको र प्रदेश कमिटीका अध्यक्षहरूले एमालेको संगठनात्मक अवस्था, केही नेताले पार्टी छाडे भने कस्तो प्रभाव पर्छ, आसन्न निर्वाचनमा कसरी अघि लैजाने लगायतका विषयमा ब्रिफिङ र सुझाव दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, कर्णाली अध्यक्ष गोरख बोगटी, लुम्बिनी अध्यक्ष लिला गिरी, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, वाग्मती अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका थिए ।

बैठकमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माधव नेपाल पक्षीय नेताहरूको बारेमा कुनै निर्णय भएन । यसअघि सोमबार उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । प्रवक्ता ज्ञवालीले यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा २४ घण्टा पुगेपछि निर्णय लिइने बताए । नेपाल पक्षका सांसदहरूले भने पत्र नपाएको बताएका छन् ।

नेपाल पक्ष आक्रामक
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागी हुने–नहुने विषयमा सांसदहरूसँग सुझाव मागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरूसँग उनले मंगलबार बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा सुझाव मागेका हुन् ।

उक्त समूहका एक नेताका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने विषयमा पनि छलफल भएको छ । “ओलीको अनुहार देखाएर निर्वाचनमा जान सकिँदैन । सके ओलीलाई संसदीय दल र पार्टीबाट हटाउने, नयाँ संसदीय दलको अध्यक्ष बनाएर जाने । त्यो सम्भव नभए नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने कुरा छ,” एक नेताले भने ।

उनले केन्द्रीय कमिटीमा आफूहरूको बहुमत पुग्ने र संसदीय दलमा पनि पुग्ने सम्भावना रहेको बताए ।

“केन्द्रीय कमिटीमा संख्या पुर्‍याउँछौँ । ओली अध्यक्ष हुँदा आफ्नो मान्छेलाई टिकट दिएकाले संसदीय दलमा उहाँको अलिक बढी देखिन्छ । तर, परिस्थिति यस्तो बन्दै छ कि ओली समूहमा ठूलै पहिरो जाने सम्भावना छ । प्रेम आले, किसान श्रेष्ठ पनि यता आइसक्नुभएको छ । अब ओली विश्वासिला पात्र गुमाएर कमजोर अवस्थामा पुगे भने उनलाई हटाएर एमाले फेरि एकता गर्ने ठाउँमा पुग्छौँ । नभएमा नयाँ पार्टी गठन गरेर जाने कुरा हो,” उनले भने ।

असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ । छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका हुन् । ‘तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने मार्गप्रशस्त गर्नुस् । तपाईंले पार्टी अध्यक्ष छोड्नुस्,’ झाँक्रीले भनिन्, ‘त्यसले नेकपा एमाले एकताबद्ध पनि हुन्छ । र, हामी नयाँ ढंगले अगाडि जान सक्छौं । होइन भने हामीसँग पटक-पटक बदलाको भावना राखेर हुँदैन ।’

नेपालले बुधबार स्थायी कमिटीको बैठक बोलाएका छन् । नेता नेपालले आवश्यक परे केन्द्रीय कमिटी बैठक बोलाउने पनि जानकारी आफू निकट नेताहरूलाई गराएका छन् । ओलीलाई विस्थापित गर्न सके एमालेमै रहने नसके नयाँ पार्टी गठन गरेर अघि बढ्नेमा नेपालले नेताहरुलाई स्पष्ट रहन आग्रह गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्