बाबुरामले गरे नयाँ राजनीतिक मोर्चा बन्न लागेको संकेत, प्रचण्डले भनेकै लाइनमा नयाँ आह्वान – Janadesh Daily | ePaper

बाबुरामले गरे नयाँ राजनीतिक मोर्चा बन्न लागेको संकेत, प्रचण्डले भनेकै लाइनमा नयाँ आह्वान


जनादेश वाच ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा नयाँ राजनीतिक मोर्चा बन्न लागेको संकेत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् अब नयाँ विचारसहित नयाँ मोर्चा बन्न लागेको बताएका हुन् ।

बाबुरामले कम्युनिस्ट नेता कार्यकर्तालाई समाजवादी ध्रुवीकरणमा लाग्नसमेत आग्रह गरेका छन्। विभिन्न घटकमा विभाजित नेपालका कम्युनिस्ट नेता-कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको भन्दै बाबुराम भट्टराईले ध्रुवीकरणमा जोड दिएका हुन् ।

लामो समय कम्युनिस्ट पार्टीमा आवद्ध रहेका र तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको नेतृत्वसमेत गरेका नेता भट्टराईले मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने कम्युनिस्टको लक्ष्यलाई स्टालिनदेखि ओलीसम्मले उल्टो दिशातिर सोझाएको आरोप लगाएका छन्।

‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो?’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पुरानै बाटो हिंडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई पनि समाजवादी केन्द्र बनाउने प्रस्ताव राखेको समाचार सार्वजनिक भएको थियो ।

प्रचण्डले बाबुरामसहित विप्लव, मोहन बैद्य, विश्वभक्त दुलाल आहुति लगायतका कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा राखेर बनाइने समाजवादी केन्द्रको अध्यक्ष बन्न समेत माधव नेपाललाई आग्रह गरेका थिए ।

प्रचण्डलाई कम्युनिस्ट पार्टीबीच एकता गरेर जान सुझाव आइरहेका बेला उनले नेता नेपाललाई समाजवादी केन्द्रको अध्यक्ष बनेर एकताको भूमिका खेल्न प्रस्ताव गरेका हुन् । बाबुरामको प्रस्ताव पनि त्यही लाइनमा आएको कतिपयको बुझाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्