खासमा के थियो प्रचण्डको मनाङ मिसन, कहाँ कहाँ गए के के गरे (तस्विरसहित) – Janadesh Daily | ePaper

खासमा के थियो प्रचण्डको मनाङ मिसन, कहाँ कहाँ गए के के गरे (तस्विरसहित)


जनादेश वाच ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार मनाङ पुगे । प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको अवलोकन पनि गरेको थियो ।

के थियो प्रचण्डको मनाङ मिसन
बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन भनिएपनि प्रचण्ड किन मनाङ गए भन्ने धेरैलाई लागेको छ । कतिपयले प्रचण्डको मनाङ भ्रमणको उद्देश्य बाढी पहिरो प्रभावित क्षेत्र अवलोकन गर्नेमात्र नरहेको तर्क समेत गरेका छन् । चुनाव लक्षित कार्यक्रम थालिसकेका प्रचण्डले अव यस्ता भ्रमण अझै बढाउने उनी निकट श्रोतको दाबी छ ।

मनाङ माओवादी नेता देव गुरुङको निर्वाचन क्षेत्र पनि हो । प्रचण्डले आगामी चुनावका लागि माहौल बनाउन देशव्यापी भ्रमणको कार्यक्रम बनाइसकेको बताइएको छ । यस अघि पार्टीलाई वडासम्मका कमिटी बनाएर प्रतिवेदन पठाउन उनले निर्देशन दिइसकेका छन् ।

प्रदेश कमिटीहरुलाई पनि प्रचण्डले चुनावमा केन्द्रित हुन र जनतासँग जोडिएर चुनाव जित्ने माहौल बनाउन निर्देशन दिइसकेका छन् । यही क्रममा उनी मनाङ पुगेका हुन् । प्रचण्डले स्थानीय नेता कार्यकर्तालाई पनि चुनाव केन्द्रित बन्न निर्देशन दिएका थिए ।

प्रचण्डले मनाङका बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “यो सरकारको साथ तपाईँहरुलाई छ, तपाईँहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।”

अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिराले धेरै क्षति पुर्‍याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बताए । उनले भने, “तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौँ । दीर्घकालीनरूपमा पनि हामीले योजना बनाउने छौँ ।”

ऊर्जामन्त्री भुसालले पनि सामाजिक सञ्जालमार्फत सरकार नागरिकको सुरक्षित बासका लागि प्रतिबद्ध रहेको आश्वासन दिएकी छिन्।

‘हिमालपारी मनाङको पिसाङ, चामेका विभिन्न स्थान, नासोको दानाक्युलगायत बाढी एवं भूक्षय प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरियो,’ मन्त्री भुसालले लेखेकी छन्, ‘प्राविधिकसहितको यस टोलीको अध्ययनका आधारमा तत्कालीन, दीर्घकालिन योजना बनाएर नदी कटान एवं भूक्षय नियन्त्रणका योजना बनाएर जनताको बसोबास सुरक्षित गर्नेछौं।’

प्रचण्डले केन्द्रदेखि प्रदेशसम्मका नेता र मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयगत क्षेत्र र निर्वाचन तथा प्रदेशगत क्षेत्रमा चुनावी माहौल बनाउन अह्राएका छन् ।

जिल्ला फर्किएर जनतासँग जोडिँदै माओवादीलाई पुनर्जीवन दिने र वृहत कम्युनिष्ट एकता गरेर चुनावमा जाने रणनीति अन्तर्गत काम गर्न उनको निर्देशन छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्