जनादेश वाच ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सर्वत्र असफल भएको व्यक्ति भएको टिप्पणी गरेका छन् ।
पार्टीको महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै नेता पौडेलले देउवाप्रति आक्रोश व्यक्त गरेका हुन् । महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको उनको आरोप छ । पार्टी वर्तमान नेतृत्वले चरम लापरबाही गरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् – सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ ? यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’
देउवा अहिले पाँचौंपटक प्रधानमन्त्री पदमा रहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन नेता पौडेल पनि गठबन्धनमा सक्रिय बनेका थिए ।