ओलीसँग आमने-सामनेः बामदेवले गरे बैठकमै भना-भन्, रामकुमारी झाँक्रीको झोंक ट्वीटरमा – Janadesh Daily | ePaper

ओलीसँग आमने-सामनेः बामदेवले गरे बैठकमै भना-भन्, रामकुमारी झाँक्रीको झोंक ट्वीटरमा


जनादेश वाच ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्यूँतिएसँगै केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ ।

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव छलफलका लागि तल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी भएका उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए।

विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका अधिकारहरू’ भन्ने शीर्षक राखेर अरू अधिकार थप्न गौतमले सुझाएका थिए । ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने बुँदा पनि थप्नुस्,’ बामदेवले आक्रोशित मुद्रामा भनेका थिए, ‘अनुशासनात्मक कारबाहीसम्बन्धी धाराको व्यवस्थालाई परिमार्जन गरेर कतिलाई अपराधी भन्न सकिने, कतिलाई गद्दार र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने बुँदा पनि थपौं।’

राजनीतिक मतभिन्नताका सन्दर्भमा ओलीले नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको भन्दै गौतमले भने, ‘अध्यक्षले यस्तो भन्न पाइन्छ भन्ने व्यवस्था पनि गरौं तर अध्यक्षले अनुशासन उल्लंघन गर्दाचाहिँ के गर्ने ?’

गौतमले बैठकमा आफूले छुट्टै प्रतिवेदन ल्याएको र त्यसलाई छलफलको विषय बनाउन आग्रह गरेका थिए तर ओलीले अस्वीकार गरेपछि उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भन्दै हिँडेका थिए ।

‘केपीको अत्याचार सहन सक्ने स्थिति छैन, उनलाई जे–जे लाग्छ, त्यो हामीले मान्नैपर्छ भन्ने कुरा आयो, मैले ती सबै कुराको प्रतिवाद गरें,’ बामदेवले भनेका छन्, ‘मेरो छुट्टै डकुमेन्ट छ । त्यसलाई छलफलमा लैजान भनें। उनीहरूले मानेनन्। त्यसपछि म हिँडें।’

झाँक्रीको झोंकः ओलीसँग या दाश छन् या उनका शुत्र

यता माधव नेपाल पक्षमा रहेकी एमाले नेतृ रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी ओलीले शत्रु र चाकर मात्रै देख्ने गरेको बताएकी छन्। सोमबार साँझ सामाजिक सञ्जालमा झाक्रीले लेखेकी छन्ः ‘ओलीको नजरमा संसारमा २ प्रकारका मान्छेहरू छन् १) शत्रुहरू, २) चाकरहरू।’

उनले ओली के गर्न चाहन्छन् भन्ने पनि प्रष्ट रहेको दाबी गरेकी छन्। ‘उहाँ के गर्न चाहनुहुन्छ भन्ने स्पष्ट नै छ’ उनले लेखेकी छन्, ‘त्यसैले आज जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ त्यो अनौठो होइन।’

एमालेले पार्टी विधान संशोधन गर्दै अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने व्यवस्था केन्द्रीय समितिबाट पारित गरेपछि झाक्रीले यस्तो टिप्पणी आएको हो।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई वेवास्ता गर्दै एमाले विधान महाधिवेशन गर्ने तयारीमा जुटेको छ। २०६५ सालको आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेको विधानमा पाँच उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र पाँच सचिव महाधिवेशनबाटै निर्वाचित हुने व्यवस्था छ ।

केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको नवौं महाधिवेशनबाट चुनिएका पदाधिकारीमा माधवकुमार नेपाल समूहको बहुमत छ । स्थायी कमिटीदेखि पोलिटब्युरोसम्म अल्पमतमा परेका उनले झण्डै दुई वर्षसम्म कमिटीहरुलाई वास्ता गरेनन् । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा आफ्नो पार्टीका महासचिव ईश्वर पोखरेललाई पन्छाएर विष्णुप्रसाद पौडेललाई पार्टीको महासचिव बनाएका थिए ।

प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनीत गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्