अहंकारले सत्ता ढालेका ओली १ महिने सरकारलाई गाली, बाबुरामको जवाफः मुर्खको ओखती छैन – Janadesh Daily | ePaper

अहंकारले सत्ता ढालेका ओली १ महिने सरकारलाई गाली, बाबुरामको जवाफः मुर्खको ओखती छैन


जनादेश वाच ।
साढे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभामा मंगलबार पहिलोपटक सम्बोधन गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदाँ अन्तिम समयमा संसद् छिरेका ओलीले उनलाई औपचारिक रूपमा बधाई दिएका थिएनन् ।

ओलीले मंगलबारको बैठकमा एक घण्टा १५ मिनट बोले । सम्बोधनका क्रममा ओलीले एक महिनासम्म सरकारले काम गर्न नसकेकाले बधाई तथा शुभकामना दिइरहेको भन्दै व्यङ्ग्य हाने । सत्ता गठबन्धन र संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममाथि ओलीले लामो समय खर्चिए ।

उनले कार्यक्रमको बुँदाबुँदामा प्रश्नैप्रश्नको वर्षा नै गरे । बैठकमा ओलीले साझा कार्यक्रम संसद्मा प्रस्तुत नगरेर अन्यत्रै सार्वजनिक गरेकोमा कटाक्षसहितको व्यङ्ग्य समेत गर्न भ्याए । उनले सरकारमा नरहेका नेताहरूको अनुहार फोटोमा देखाउन छुट्टै कार्यक्रममा सार्वजनिक गरेको आरोप समेत लगाए ।

देउवालाई कटाक्षः बधाई लिएर एक महिना वित्यो
ओलीले प्रधानमन्त्री देउवालाई बधाई लिएर नै एक महिनाको समय खेर गएको आरोप लगाए । अझै शुभकामनाको लहर १४–१५ महिना चल्ने भन्दै उनले कटाक्ष पनि गरे । ओलीले गठबन्धनका नेताहरू केटाकेटीहरूले दसैँमा आगनमा नाचेजस्तै गरिरहेको भन्दै व्यङ्ग्य गरे ।

ओलीले भने, “भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईंहरूको समय, माया लाग्छ ।”

साझा कार्यक्रममाथि प्रश्नैप्रश्न
ओलीले सरकारको साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार नदेखिएको भन्दै टिप्पणी गरे । ‘पोलिसी सिफ्ट’ भन्दै कटाक्ष गरेका ओलीले साना–मसिना कामको कुरा मात्रै कार्यक्रममा समेटिएको विश्लेषण गरे ।

उनले साझा कार्यक्रममा समावेश कोभिड–१९ विरुद्धको निशुल्क खोेप दिइने विषयमा यो सरकारबाट निःशुल्क दिन लागेको हो र भन्दै प्रश्न उठाएका थिए । उनले छिमेकीहरूसँगको सीमा समस्या समाधान गर्ने भन्ने बुँदा राखेर गठबन्धन डराएको टिप्पणी गरे । वार्तामार्फत् भूमि फिर्ता ल्याउन उनको आग्रह थियो ।

“लिम्पिायाधुरा कालापानी समस्या हो ? समस्या होइन । त्यो पवित्र भूमि हाम्रो हो । त्यो फिर्ता लिनुस्,” उनले भने “कति सारो डराएको यो सरकार भन्या । डराउनुको हद हुन्छ नि । जिब्रो पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।”

ओलील भष्ट्राचारका दोषीविरुद्ध कारबाही गर्ने साझा कार्यक्रममा उल्लेखित विषयले क्यान्टोनमेन्टको छानबिन गर्न सुझाए ।

“भ्रष्टाचारविरुद्धको कारबाही गर्छु भन्नुभएको छ । कारबाही थाल्ने भनेर खुसी लाग्यो । क्यान्टोनमेन्टको कुरा उठेको छ । यत्रो गठबन्धनको सरकारकाले छानबिन गरेर जवाफ दिनेछ,” उनले भने । ओलीले ललिता निवास, मातातिर्थ लगायतका क्षेत्रको विषयमा पनि छानबिन गर्न चुनौती दिए ।

गठबन्धनको साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गर्ने विषय उल्लेख भएकोबारे उनले पीडितलाई न्याय दिन सुझाए । उनले पीडितहरूको उपचार गर्न नसके एमालेको पार्टी कार्यालयमा पठाइदिनु भन्दै कटाक्ष पनि गरे ।

साझा कार्यक्रममाथि नै समय खर्चिएका ओलीले द्वन्द्व पीडितलाई सम्मान नभएर न्याय दिन आग्रह गरे । उनले सरकारले उपचार गर्न नसके पार्टी कार्यालयमा पठाइदिनु भन्दै कटाक्ष गरे ।

“द्वन्द्व पीडितलाई न्याय दिनुस् । द्वन्द्वन्त पीडितका घाइतेको उपचार गराउँछु भन्नुस् न । शरीरमा गोली भएकाहरूको गोली निकाल्छु भन्नुस् न,” ओलीले भने “यदि सरकार सक्दैन भने नेकपा एमालेको कार्यालय थापाथलीमा छ अहिले त्यहाँ पठाइदिनुस् । म गर्छु । न्याय दिनुस् ।”

ओलीले गठबन्धनमा रहेको पाँचौँ दल कुन हो भन्दै प्रश्न पनि गरे ।

ओलीले सम्झाए एमसीसी सम्झौता
साझा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयबारे उल्ल्ेख नभएको भन्दै त्यसबारे ओलीले प्रश्न उठाए । “एमसीसीको बारेमा साझा न्यूनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो कि क्या हो ?,” उनले सोधे,“ प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईँ ?”

उनले आफूले एमसीसीबारे पहिले बोलेका भिडियो खोतलेर एमसीसीबारे वातावरण बिगार्न खोजेको आरोप पनि लगाए । एमसीसी संसद्मा विचाराधीन भएको भन्दै त्यसबारे आफ्नो धाराण दिन प्रधानमन्त्रीलाई उनको आग्रह थियो ।

सुकुम्बासी आयोग खारेज गरेकोमा आक्रोश
ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेकोमा आक्रोश पोखे । सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी मोस्ने काम भएको उनको भनाइ थियो ।

त्यस्तै कर्मचारीलाई राजीनामा गर्न दबाव दिएको भन्दै उनले आक्रोश पनि पोखे । कर्मचारीलाई हटाएर गठबन्धनका व्यक्ति राख्न खोजिएको उनको आरोप थियो ।

देउवालाई नमस्कार गर्दै भने – प्लिज ! मन्त्री बनाउनुस्
ओलीले भाषणका क्रममा आफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई लक्षित गर्दै केही एमालेका नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई व्यङ्ग्यात्मक शैलीमा अनुरोध समेत गरे ।

मुर्खको ओखती छैनः बाबुराम भट्टराई
विपक्षी दलका नेता ओलीले संसदमा व्यक्त गरेको विचारप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कटाक्ष गरेका छन्। भट्टराईले गलत काम गरेकोमा क्षमा याचना माग्नुको साटो उल्टो ठूलो स्वरमा बोलेको आरोप लगाएका हुन्।

भट्टराईले ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’ भन्दै ओलीलाई व्यंग्य गरेका छन्।

उनले भने, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना, उल्टै जो चोर उसको ठुलो स्वर?’

आफूले चालेका असंवैधानिक कदमप्रति आत्माआलोचना नगरेको भन्दै कतिपयले ओलीको आलोचना गरिरहँदा लेखक संग्रौलाले ओलीलाई दुच्छरको संज्ञा दिएका छन्।

‘नामै लिँदा दिगमिग लाग्ने यी महामानव संसदको मण्डपमा उभिएर बोल्दा मनमा झ्याट्ट दुई कुरा उठे,’ संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुच्छरको कहिल्यै सोमत हुँदैन, दुष्ट्याइँको कतै ओखती हुँदैन।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्