जनादेश वाच ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग सम्झौता हुने सम्भावना नै नरहेको आफ्ना निकट नेताहरुलाई बताइसकेका छन् । एकताका लागि ओलीसँग अनौपचारिक रुपमा संवादमा रहेका नेपालले आफू कमजोर हुने गरी अघि नबढ्ने उनको प्रष्ट दृढता छ ।
मंगलबार एमबिबिएसमा सर्वोत्कृट भएका आशिक झालाई सम्मान गर्न नेपाल निकट अखिलले आयोजना गरेको कार्यक्रममा नेता नेपालले आफूहरु कसैको टाङमुनि छिर्ने पक्षमा नरहेको उल्लेख गरे। उनले भने, ‘हामी कसैको टाङमुनि छिर्नेवाला छैनौँ। अध्यारो सुरुङमा छिर्नेवाला छैनौँ। दम्भी अहंकारीहरुलाई चुनौती दिएर नै अघि बढ्नेछौँ। यस धर्तीमा बहादुरहरुको मात्रै सम्मान हुन्छ, डरपोक कायरहरुको सम्मान हुँदैन। सही बाटोमा सत्य र न्यायको बाटोमा अघि बढ्छौँ।’
नेता नेपालले आफू पक्षीय कर्णालीका तीन सांसदलाई जिताएर ल्याउने समेत बताए। प्रकाश ज्वालासहितका नेताहरुले हिम्मतका साथ काम गरेको उनको भनाइ थियो। पार्टीको ह्वीप विपरीत उनीहरुले महिन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए।
‘हाम्रा कर्णाली प्रदेशका साथीहरुले बडो हिम्मतका साथ, आँटका साथ, गतल कुराको प्रवृतिमा उड्ने आँट गर्नुभयो,’ नेपालले अगाडि भने, ‘मैले उहाँहरुलाई भनेको छु, तपाईंहरुको पद खारेज भयो भने जिताएर ल्याउने जिम्मामा मेरो हो।’
अब एक छैन एमालेः नाम एक ब्राण्ड दुई
२४ गते बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन पछि सर्दा पार्टी एकीकृत बनाउन दौडधूप गरिरहेको एमाले वृत्तमा चर्चा चल्यो- पार्टी फुट्न नदिन अध्यक्ष केपी शर्मा ओली एक कदम पछि सरे। किनभने त्यसअघि बसेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेपालले पार्टी एकता जोगाउने हो भने बोलाइएको बैठक ओलीले स्थगित गर्नुपर्ने बताएका थिए। तर, सोमबारको बैठकले पार्टी एकतामा जोड दिइरहेका समक्ष त्यति शुभ समाचार ल्याएन। ओली पक्षले एमालेको रथ लगभग एक्लै हाँक्न सक्ने निर्णय अनुमोदन गर्यो, पार्टीमा अध्यक्षलाई शक्तिशाली बनायो
अध्यक्षमा शक्ति केन्द्रित गर्ने प्रस्ताव राखिएको सो विधान आगामी भदौ २६ र २७ गते बस्ने विधान महाधिवेशनबाट पारित हुँदैछ। नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले संशोधन गराएको विधान एमाले विभाजनको दोस्रो प्रस्थानविन्दु भएको नेपालपक्षीय नेताहरु बताउँछन्। उनीहरुको बुझाईमा नाम एक भएपनि अब एमालेका दुई ब्राण्ड छन् ।
आफ्नै पुराना सहयात्रीप्रति ओलीको हद दर्जाको व्यवहार र ओली प्रवृत्तिलाई पटक्कै देख्न नरुचाउने नेता नेपालबीचको पुरानै मित्रता फेरि फर्कने सम्भावना क्षीण हुँदै गएको छ। विपरीत धारमा नेतृत्व गरिरहेका यी दुई नेताको सम्बन्ध यस्तो हुँदा एमाले एक हुने सम्भावना झनै कम रहेको दुवै पक्षका नेताहरु बताउँछन्।
अध्यक्ष ओली र नेता नेपालले मंगलबार गरेका भाषणको अन्तर्यमा पनि एक अर्काप्रतिको तिक्तता ज्यादा छ। आफैँले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक मंगलबार विशेष समय लिएर बोलेका अध्यक्ष ओलीले पार्टी फुटेको घाटा सहन तयार रहेको बताए।
‘सभामुखमार्फत प्रधानमन्त्रीज्यूलाई एउटा अनुरोध, मेरो दलका केही सांसदहरु मन्त्री नपाएर हिरिक्क–हिरिक्क भएका छन्, ती सांसदहरुलाई मन्त्री बनाउनुस्,’ ओलीले भने, ‘प्लिज प्रधानमन्त्रीज्यू, विचराहरु मन्त्री खान नपाएर छटपटिएका छन्। तिनीहरुलाई मन्त्री बनाइदिनुस् न। किन बिलम्ब गर्नुभएको, किन ढिला गर्नु भएको? विचराहरुलाई मन्त्री बनाइदिँदा मेरो पार्टीलाई घाटा हुने भए पनि सहुँला, बुझौँला तर उनीहरुलाई मन्त्री बनाइदिनुस्।’
नयाँ परिस्थितिमा नयाँ कार्यक्रम
विकसित राजनीतिक परिस्थितिअनुसार नेपाल पक्षले अब छिट्टै नयाँ कार्यक्रम तय गर्ने भएको छ। ७१ वटा जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको नेपाल पक्षले अब बाँकी जिल्लामा पनि समानान्तर कमिटी बनाउनेछ। नेपाल पक्षले २०७७ चैत ४ र ५ गते ललितपुरको सानेपामा आफूपक्षीय कार्यकर्ता भेला राखेको थियो। नेपाल पक्षको सो भेलामा देशभरबाट चार हजार कार्यकर्ता उपस्थित भएका थिए। त्यसबाट हौसिएका नेता नेपालले पार्टीमा समानान्तर कमिटी बनाउँदै लगेका थिए।
ओलीले दोस्रो पटक जेठ ८ मा प्रतिनिधि सभा विघटन गर्नु अघिसम्म नेपाल पक्षको समानान्तर कमिटी बनेको थियो। भुसालका अनुसार केही दिनभित्र नयाँ कार्यक्रम सुरु हुनेछ।
भीम आचार्यको ८ बुँदे अपील
एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन्। विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाइदिन देशविदेशमा रहेका नेपालीसमक्ष हारगुहार गरेका हुन्।
‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रर्वत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।’