माधवको पार्टीका सोसल मिडिया तरंगः झाँक्री भाइरल, बाबुरामेदेखि सूर्य थापा र ईश्वर पोखरेलसम्म – Janadesh Daily | ePaper

माधवको पार्टीका सोसल मिडिया तरंगः झाँक्री भाइरल, बाबुरामेदेखि सूर्य थापा र ईश्वर पोखरेलसम्म


जनादेश सोसल मिडिया वाच ।

माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएपछि सामाजिक सञ्जाल तातेको छ । कसैले हात समातेर माधव नेपाललाई पार्टी दर्ता पुर्‍याएको तस्विरको चर्चा गरिरहेका छन् भने कतिपयले माधव नेपालको आलोचना । केहीले नेता नेपाललाई शुभकामना दिएका छन् ।

बुधबार एमाले विभाजन गरी बनाइएको नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदा पनि नेता झाँक्रीको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

निर्वाचन आयोगको परिसरमा खिचिएको त्यो तस्बिरमा नेता झाँक्रीले आफ्ना वरिष्ठ नेता माधव नेपालको हात समातेर तानिरहेको देखिन्छ। जसलाई कतिपय लेखक, पत्रकार, सम्पादकले समेत पहिलो पुस्तामा युवा पुस्ताको हस्तक्षेपका रूपमा अर्थ्याएका छन्। र, नेता झाँक्रीको भूमिका र साहसको प्रशंसा गरेका छन्।

यो तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै लेखक सरिता तिवारीले लेखेकी छन्, ‘यो तस्बिरलाई पछिल्लो पुस्ताको शानदार हस्तक्षेप मान्छु म चैं। कतिपय कुरामा रामकुमारीजीको आलोचक हुँ, तर पुस्तान्तरको हस्तक्षेपको सन्दर्भमा कुनै माईका लाल (आमाको सुपुत्र) सँग नभएको हिम्मत यिनले देखाइरहेकी छिन्। त्यस अर्थमा यिनको प्रशंसा गर्छु।’

उनले अगाडि लेखेकी छन्, ‘पछिल्लो पुस्ताले समय छँदै यसरी केपी ओलीसहित पाका नेताको कठालो समात्ने काम गरेको भए आजको दिनको तस्बिर फरक हुन्थ्यो।’

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले)मा विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।

उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन्।

‘ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयॉ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न। अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस्!’

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले भने प्रदीप नेपालपछि थप ५ नेताले माधव नेपालले गठन गरेको नयाँ दल नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय सदस्यमा बस्न अस्वीकार गरेको दाबी गरेका छन्।

प्रदीप नेपाल र भानुभक्त जोशीले त सामाजिकि सञ्जालमार्फत नेपाल नेतृत्वको पार्टीमा नबस्ने घोषणा गरेकै हुन्।

–​माधव नेपालले केन्द्रीय सदस्यमा राखेका प्रदीप नेपालले भनेः म कतै छैन

–​प्रदीप नेपालपछि भानुभक्त जोशीले गरे माधव नेपालको पार्टीमा बस्न अस्वीकार

तर नेता थापाले उनीहरूसँगै कृष्ण खनाल (चितवन) सुरेश कार्की (उदयपुर) नरेश खरेल (झापा) र शिवकुमार गुरुङ (ताप्लेजुङ) ले पनि माधवकुमार नेपालको विभाजनका विपक्षमा उभिने घोषणा गरेको दाबी गरेका हुन्। साथै नेता थापाले वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताले पनि क्रमशः माधव नेपालको पार्टी अस्वीकार गर्दै जाने आशासमेत व्यक्त गरेका छन्।

‘कमरेडहरू झलनाथ खनाल, प्रदीप नेपाल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर, कृष्ण खनालसहित धेरै नेताको नाम यहाँबाट हट्दै जाने छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतीक्षा गरौं र अरू इमान्दार व्यक्तिले पनि कमरेड प्रदीपले झैं घोषणा गर्नेछन्। आशा पनि गरौं।’

माधव नेपालका कट्टर आलोचकमध्ये एक एमाले नेता थापा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला प्रेस सल्लाहकार थिए।

एमालेका महासचिव ईश्वर पोखरेलले एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको भन्दै अपिल जारी गरेका छन्। पार्टीभित्रको एकता कायम राख्न पटकपटक अपिल गरिएको तथा माधव नेपाललगायत केही नेतासँग आफैंले पनि पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै महासचिव पोखरेलले दुःख व्यक्त गरेका हुन्।

‘यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटकपटक अपिल गरिएको छ। माधव नेपाललगायत केही साथीहरूसँग यसबीच म आफैंले पनि पटकपटक कुराकानी गरेको छु, छलफल गरेको छु,’ महासचिव पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘तर ती सबै निर्रथक बने!’

यस्तै उनले ‘केही मानिस’ बाहिरिँदैमा विचलित नहुन स्वदेश तथा विदेशमा रहेका एमालेका नेता/कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध पनि गरेका छन्।

‘फुटको विगत हामी सबैले देखेका–भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा ‘धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पबद्ध छ, दृढताका साथ अघि बढिरहनेछ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्