जनादेश वाच ।
माधव नेपालको साथ छाडेर एमालेको संस्थापन पक्षमा लागेका एमालेका नेताहरुसहितको फोटो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । मंगलबार बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षमा लागेका नेताहरुले एमालेको संस्थापन पक्षमै बस्ने निर्णय गरेका थिए ।
८ महिनापछि माधव नेपाल पक्षका अधिकाँश स्थायी कमिटि सदस्य केपी ओली पक्षमा विलीन भएका छन् ।
मंगलबारको स्थायी कमिटी बैठक सफल भएपछि प्रवक्ता प्रदीप ज्ञवालीले अबेर राती फेसबुकमा लेखेका छन्, ‘एउटा सुन्दर पल ! आठ महिना पछि मिलेका मन र एउटै लयमा चलायमान पाइलाहरू ।’
माधव नेपाल अलग भएर गएपनि कुनै गुनासो नरहेको आशय ज्ञवालीको फेसबुक स्टाट्समा देखिन्छ । उनले थप अगाडि लेखेका छन्, ‘नेकपा एमाले एकताबद्ध भएको छ । र, चुनौतीहरूको सामना गर्न तम्तयार भएको छ । एक महिनाभित्र विधान महाधिवेशन र तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर पार्टी नयाँ उर्जाका साथ अगाडि बढ्ने छ ।’
बाबुरामको टिप्पणीः गोरु ब्याउने आश !
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमालेका दोस्रो तहका नेताहरुलाई ‘खै चेत?’ भन्दै प्रश्न गरेका छन्।
माधव नेपालको साथ छाडेर ओलीसँग टाँसिएका स्थायी कमिटी सदस्यहरुलाई संकेत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले उनीहरुमा ७० आसपासका बुढा (नेता)हरूको जति पनि सत्य र न्यायको परख, दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएको टिप्पणी गरेका छन्।
भट्टराईले ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै भएको पनि टिप्पणी गरेका छन्।
‘हामी ७० आसपासका बुढाहरूको जति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनावचिन्ह नै पार्टी हो र? खै चेत?’ भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै भनेका छन्।
हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र?खै चेत?
— Baburam Bhattarai (@brb1954) August 24, 2021
तत्कालिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गरेपछि एमाले विभाजनमा पुगेको थियो । तर अहिले माधव नेपाल फुटेर नयाँ दल गठन गरेपनि उनलाई साथ दिइरहेका नेताहरु एमालेमा फर्किएका हुन् ।