जनादेश अन्तर्राष्ट्रिय वाच ।
फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीको वेबसाइट र एप्लिकेशनले बालबालिकालाई हानी गरिरहेको, विभाजनलाई बढावा दिएको तथा प्रजातन्त्रलाई कमजोर बनाएको बताएकी छन्।
३७ वर्षकी फ्रान्सिस हाउगनले अमेरिकी सांसदसँगको बयानको क्रममा फेसबुक र त्यसका एप्लिकेशनहरु बालबालिका, समाज र प्रजातन्त्रका लागि हानिकारक रहेको बताएकी हुन्।
फ्रान्सिसले फेसबुकमा प्रोडक्ट म्यानेजरका रुपमा काम गरेकी थिइन्। उनले फेसबुकका गोप्य जानकारीहरु सार्वजनिक गरेकी थिइन्। अमेरिकी संसदमा भएको सुनुवाइको क्रममा फ्रान्सिसले फेसबुकको कडा आलोचना गरेकी हुन्।
फेसबुकले भने फ्रान्सिसले आफ्नो जानकारी र ज्ञान नै नभएको विषयमा बोलेको दाबी गरेको छ। सामाजिक सञ्जाल क्षेत्रको ‘जाइन्ट’ फेसबुकमाथि नियमलाई लिएर चौतर्फी दबाब आइरहेका बेला फ्रान्सिसको भनाइ आएको हो।
फेसबुक विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल हो। कम्पनीका अनुसार उसका विश्वभर मासिक दुई अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन्। ह्वाट्सएप र इन्स्टाग्रामसहित कम्पनीका अरु सामाजिक सञ्जालहरुको प्रयोग गर्नेहरुको संख्या पनि ठूलो छ।
तर फेसबुकसहित उसका अरु माध्यमहरुमाथि प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा नगरेको तथा गलत सूचना प्रवाह हुनबाट रोक्नका लागि पर्याप्त काम नगरेको आरोप कम्पनीमाथि लाग्दै आएको छ।
मंगलबार सदनमा भएको सुनुवाइको क्रममा रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरु फेसबुकमा परिवर्तनको खाँचो रहेकोमा एकताबद्ध देखिए।
फ्रान्सिसले आइतबार सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा पछिल्लो केही हप्तामा आफूले फेसबुकका धेरै आन्तरिक जानकारीहरु वाल स्ट्रिट जर्नललाई प्रदान गरेको बताएकी थिइन्।
त्यसकै आधारमा इन्स्टाग्रमका कारण किशोरीहरुको मानसिक स्वास्थ्यमा असर पर्ने देखिएको खबर वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो।