परिवर्तनको चक्रमा वर्चश्वशाली समूह बाधक – Janadesh Daily | ePaper

परिवर्तनको चक्रमा वर्चश्वशाली समूह बाधक



डीबी. नेपाली

नेपालका आम उत्पीडित समुदायको इतिहास मानव समाज उत्पति जत्तिकै पुरानो रहेको छ । मानव सभ्यतको जगनै कथित दलित भनिने मानव समूहरुनै हुन् । अनादिकालीन शिल्प(मानव)सभ्यताको विकासकर्ता यिनै समुदाय हुन् । स्माइल्स भन्दछन्–“परिश्रमीले गर्व गर्न सक्दछ । सभ्यता र सम्पदाको विकास पनि परिश्रमकै देन हो ।” सभ्यता विकासको पृष्ठभूमि शब्द,बोली वा ध्वनीको ठूलो भूमिका मानिएको छ ।

जसको आविष्कार र विकासकर्ता उत्पीडित, सीमान्तकृत समुदायहरुलेनै गरेका हुन् । नेपाल राज्यको महत्वपूर्ण निर्माणकर्ता परिश्रमी समूहलाई घृणा,तुच्छ र निच मान्ने जमातहरुको कमी छैन ।

हुनत् अहिले आधुनिकीकरण भएर हलो विस्थापन हुँदैछ । तर, नेपाली ग्रामीण कृर्षि प्रणाली परम्परागत रुपमा हलो र गोरुमै निर्भर रहेको छ । पढाइनै सबै थोक हो भन्ने भावबाट पढिनस् भने हलो जोत्छस भन्ने आहानले जीवनको मूल कृषिलाई उपेक्षा गरिएको छ । त्यसको परिणाम अहिलेको पुस्ताले भोग्दै आएका छन् । अँध्यारो पछि उज्यालो, उदासी पछि खुशी, आज दुःख, भोली सुख भनेझै निरन्तर आदि कालदेखि अहिलेसम्म मेहनत, परिश्रम र पसिना बगाउनु सीमान्तकृत समुदायको दिनचर्या बनेको छ ।

घृणावाद एक राष्ट्रिय लज्जाः
जो अरुको कमाई खान चाँहदैन । आफ्नै श्रम,पसिनामा बाँच्न, रमाउन मन पराउँछ । यो उनीहरुको पुख्र्यौली गुण, सभ्यता र सँस्कारको रुपमा पुस्तान्तरण हुँदै आएको छ । जसले ढाँटछल, जालझेल, बेइमानी, भ्रष्टाचार, कमिशन र दलाली कुन चरीको नाम हो ? आजसम्म गरेको, फसेको सुनिएको छै्रन । धेरै जसो सुकिला मुकिला व्यक्तिहरु मेहनत,परिश्रम र पसिना बगाउन लाज मान्दछन् ।

उनीहरु शारीरिक परिश्रम तुच्छ काम हो भन्ने ठान्छन् । वास्तवमा संसारमा तुच्छ, निच काम भन्ने कुनै छँदैछौन । मेहनत, परिश्रम उत्कृष्ट र पवित्र काम हो । जसलाई आजसम्म सीमान्तकृत उत्पीडित समुदायले सामाजिक सेवाको रुपमा गर्दै आएका छन् । जुन समुदायले निच, तुच्छ र घृणा भावले हेर्छन । उनीहरुको समुदायगत चिनारी भने विभिन्न तथ्यांकहरुबाटै भ्रष्टाचारी, माफिया, दलालीकरण झुण्डको रुपमा रहेको पुष्टि हुन्छ । यति हुँदासम्म आफैले–आफैलाई उच्च, संम्भ्रान्त, सभ्य, शासक भनेर अरुलाई घृणाभाव फैलाउनु उनीहरुको पुख्र्यौली संस्कार जस्तै बनेको छ ।

अछुतपना स्थायी रुपमा रुपान्तरणः
आदिम जङ्गली कविला समाजमा अशुद्ध र अपवित्रता मात्रै थियो । निश्चित समय र विधि पूरा गरेपछि निज व्यक्ति पुनः समाजमा घुलमिल वा पवित्र भएको मानिन्थ्यो । यसरी आदिम समाजमा समेत नभएको अछुतपना सन् ६०० बाट शुरुवात् भएको मानिन्छ । अछुतपनाको रोग सन् २०० सम्म पनि अस्तित्वमा थिएन ।

परम्परागत कट्टर पुरातनवादी ब्राम्हणवाद र वैज्ञानिक मानवतावादी बुद्धवादको बीचको आपसी टकरावबाट स्थायी प्रकारको अछुतपनाको सिर्जना भएको पाइन्छ । बुद्धवाद र भिक्षुहरुलाई परास्त गर्न ब्राम्हणहरु पहिला गाई खानेबाट एकाएक गाई नखाने र शाकाहारीमा रुपान्तरण भए । ईसापूर्व पाँचौ शताब्दीमा आएर गाईको वध गर्न प्रविबन्ध नै लगाइयो ।

यसपछि उनीहरुले गाई खाने समुहलाई अछुत घोषित गरे । पृथक नश्ल र सभ्यता भएकाहरुलाई अछुतको रुपमा हेर्न थालियो । नेपालमा भने पञ्चायत कालबाट गाई बध गर्न प्रतिबन्ध लगाइएको हो । यसरी गाईको मासु खानु, पृथक नश्ल, सभ्यता र सँस्कृति भएकै कारण अछुतपना स्थायी रुपमा रुपान्तरण हुन गयो ।

सो कुरा डा. भिम राव अम्बेडकरद्धारा लिखित कमला हेमचुरीले अनुवाद गर्नुभएको “अछुत को र कसरी ?” पुस्तकमा सविस्तार चर्चा गरिएको छ । यसरी प्राचीन समाजमा अशुद्ध र अपवित्रता मात्रै रहेको चलन स्थायी रुपमा अछुतपनामा परिर्वतन भएको थियो ।

नेपालमा अछुतपनाः
नेपालका केही लेखक अध्येताहरुले जात व्यवस्था र छुवाछुतप्रथा पृथ्वीनारायण शाहको राज्यविस्तार र विं.संं. १९१० को जङ्गबहादुर राणाको मुलुकी ऐनबाट मात्रै शुरुवात् भएको भन्ने गर्दछन् । यो सत्य र यर्थाथ होइन । यसलाई मात्रै आधार मान्ने हो भने नेपालमा उत्पीडितहरुको इतिहास बढीमा तीन सय वर्ष मात्रै हुन् आउँछ ।

तर, छुवाछुत, जातपात र भेद्भाव बुद्धकालिन समय भन्दा अघिदेखि बाटै शुरु भएको देखिन्छ । बुद्धकालिन समयमा त निकै चर्को रुपमा फैलिइ सकेको थियो । बुद्धका चेला बन्ने थुप्रै शिष्यहरु बुद्धको संघमा आउन हिच्किचाएका छन् । तर, बुद्धले ब्राम्हणवादको विरोध गर्दै चेलाको रुपमा स्वीकार गर्नु भएको छ । सुपुष्प बर्मा(ई.पू.२१०–१९४)को समय भन्दा अघिनै विदेह र कपिलवस्तुको शाक्य राज्यमा वर्णाश्रम व्यवस्थाको विस्तार भैसकेको थियो ।

नेपालमा इशापूर्व पाँचौ शताब्दीतिरनै दक्षिणका विदेह, कोलिय(कामी),शाक्यहरु तथा उत्तरका किराँतहरुमा व्यापार विनिमय बढ्दै गएको थियो । यसकारण नेपालभर आदिम कविलाका परम्परागत भौगोलिक क्षेत्रहरुमा उत्पीडित समुदायका झुण्डहरु विस्तार भैसकेको देखिन्छ । यस तथ्यबाट नेपालमा अछुतहरु हजारौं वर्ष पुरानो बासिन्दाको रुपमा रहेको प्रमाणित हुन्छ ।

कर्नाली, गण्डकी र २नंं.र सुदूरपश्चिम प्रदेशमा शिल्पी अनादिकालीन मूलवासीको रुपमा रहेको पाइन्छ । १२ औ शताब्दीमा खस साम्राज्यको विस्तारपछि उनीहरु राप्ती, नारायणी,गण्डकी,बाग्मती हुँदै सर्दैै–सर्दै अघि बढेको देखिन्छ । नलेखिएको वास्तविक पुरानो सत्यतथ्य इतिहास यहि हो । पृथ्वीनारयण शाहसँगै फैलिए, विस्तार भए भन्नु यर्थाथ र तथ्यपरक हुनै सक्दैन ।

सँधै सत्ताको भर्याङः
शिल्पी समुदायले आदिमकालिन मानव सभ्यताको विकासदेखि अहिले सम्म लिने भन्दा दिन मात्रै जान्यो । समाजको मुख्य चालक शक्तिको रुपमा सेवा प्रवाह गर्दै आयो । १६६२ ई.देखि रोकिएको सेनवंशीय राज्य विस्ताको अभियान अठारौं शताब्दीको मध्य(१७४३ ईं.) कालदेखि पृथ्वीनारायाण शाहले निरन्तरता दिएदेखि । ०६२/०६३ र तराई/मधेश आन्दोलन सम्म आउँदा ठूलो त्याग, बलिदान र योगदान दिएका छन् । जब परिवर्तन पछि अवसर लिने क्षणमा भने समाजका चतुरहरुले ढोका बाहिरै राख्ने गरेका छन् । नेपालको राजनीतिक आन्दोलन भन्दा पुरानो यी समुदायको सामाजिक आन्दोलनको इतिहासलाई मानिन्छ ।

यहाँ सम्मकी दुईपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई कम्युनिष्ट पार्टीको सदस्यता दिने चर्चित दार्शनिक रुपलाल विश्वकर्मा हुन् । दाहालको राज्यसत्तामा वर्गीय र जातीय पकड, वर्चस्व, प्रभुत्व, प्रभावका कारण यो अवसर प्राप्त गर्नलाई सहज भयो । रुपलालको भने राज्यसत्तामा वहिष्करणले गर्दा कम्युनिष्ट पार्टीमा महासचिव हुन्बाट रोकियो । त्यसैगरी अहिले २ नं. प्रदेशका प्रमुख माननीय तिलक परियारलेनै डा. बाबुराम भट्टराईलाई कम्युनिष्ट पार्टीको सदस्यता दिनु भएको हो ।

भट्टराईको राज्यसत्तामा पकड भएरनै अर्थमन्त्री र प्रधानमन्त्री भइसक्नु भयो । यसरी राज्यसत्तामा जसको जातीय प्रभाव र प्रभुत्व छ । उनीहरुलेनै लाभ लिइरहेका छन्, लिने क्रम अझै जारी छ । योग्यता, क्षमता र बौद्धिकता गौण, जातीय सत्ता प्रधान बनेको छ । यो समुदाय अयोग्य र कमजोर भएर पछि परेका होइनन् । उत्पीडितहरुको राणा शासन फाल्नमा अतुलनीय योगदान रहेको थियो ।

पञ्चायत कालमा जो दरबारसँग नजिक छ । उसलेनै व्यक्तिगत रुपमा पद,प्रतिष्ठा र अवसर पाउँथ्यो । पञ्चायत विरुद्धको आन्दोलनमा यो समुदायले त्याग र बलिदान दिएका थिए । २०४६ सालको प्रजातन्त्र प्राप्त पछि यसको कुनै मूल्यांकन गरिएन । उत्पीडितहरुले काँग्रेस, कम्युनिष्टलाई मत दिएर भर्याङ बनी सत्तामा उकाले । ०४६ साल ताका बाँकेबाट प्रत्यक्ष निर्वाचित कृष्णसिंह परियार बाहेक संसदमा अरु कोही पुग्न सकेनन् । सुरा–सुन्दरी, पजेरो,सांसद खरिदबिक्री, महाकाली सन्धि जस्ता मोजमस्ति र काण्डमा फसेको सत्ता । समावेशीकरणमा ध्यान नजानु अस्वभाविक थिएन ।

परम्परागत रुपमा लाभ लिइरहेका सीमित वर्गलेनै सत्तामा हालीमुहाली गरिरह्यो । बहिष्कृत र वञ्चितीकरणबाट निस्सासिएको यो समुदाय माओवादी युद्धको उत्प्रेरक शक्ति बन्यो । उनीहरुको आकर्षक स्वार्थ प्रेरित नाराले छिटै तान्यो । यसकारण राज्य र विद्रोही पक्षको अचानोको मासु जस्तो बन्दा पनि शिल्पी समुदायले माओवादीको साथ छोड्नन् ।

यातना, हत्या र वस्तीमै आगो झोस्दा पनि मोह भंग नहुनु । राज्यबाट पाएको उत्पीडन, अपमान र विभेदनै प्रमुख कारक थियो । यसरी साथ दिएको समुदायलाई भने सत्तामा स्वाद लिन थालेपछि माओवादी नामको स्वार्थी झुन्डले चटक्कै बिर्सिंयो । परिर्वतनकारी नारा उराले पनि नेतृत्व सत्ताधारी जातवंशनै भएकोले पुरानो शक्तिसँगै एकाकार बन्न गयो ।

अहिले युद्धका बेलामा स्थापित भएका परिर्वतनका मानकहरु उल्टिएका छन् । राष्ट्रिय दलित आयोग, दलित विकास समिति र बादी विकास बोर्ड समृद्धिको माला जप्नेहरुको नजरबाट गायब भएको छ । सर्वहारा र श्रमजीविको मुक्तिदाताहरु अहिले नवढनाढ्य सामन्त वर्गमा रुपान्तरण भएका छन् । जेठ १० गते रुकुमको सामूहिक जातीय नरसंहार र २ नंं प्रदेशमा २७ गते धनुषाको शम्भु,मलर सदा र अंगीरा पासी लगायतको श्रृंखलावद्ध हत्यामा ढाकछोप गर्न लाग्नु यसकै परिणाम हो ।

छुवाछुतमुक्त राष्ट्र घोषणा भइ १४ वर्ष यता डेढ दर्जन बढी आम शिल्पी समुदाय माथि जातीय विभेदका घट्ना भएका छन् । गणतन्त्र घोषणा भएको १२ वर्षको अवधिमा श्रृंखलावद्ध रुपमा सतहमा आएका १२ भन्दा बढी जघन्य हत्याहिंसाका घट्ना भैसकेको छ ।

गोलचक्कर भूँमरीको दुष्चक्रः
विश्वासकै भरमा इजरायलका वीर लडाकु डेभिड नामक युवकले प्यालेस्टाइनका विशाल योद्धा गोलायथलाई बिना हतियार परास्त गरेका थिए । कमजोर शरीर भएका नेपोलियन बोनापार्टले आत्म विश्वासको भरमा सारा संसारलाई आश्चर्य चकित पारिदिए । अदम्य आत्मविश्वास, साहस र दृढ संकल्पका कारण अब्राहम लिंकन अमेरिकाको १६ औं राष्ट्रपति बन्न सकेका हुन् । विश्वासको शक्तिको सहाराले नै पिएरेले उत्तरी ध्रुवको खोजमा सफलता प्राप्त गरेका थिए । आत्मविश्वासकै कारण एक प्रेमी फरदाहले पहाड फोडेर नहर बनाए । भगवान बुद्धले आत्मविश्वासकै कारण आफ्नो राजपात छोडेका थिए ।

तर, नेपालका ब्राम्हणवादी शासकहरुलाई उत्पीडित समुदायले जसरी समानता र मुक्तिका लागि भोट दिएर सत्ताका भर्याङ बन्दै आएका छन् । परिणाम भने सँधै उल्टो हात लाग्दै आएको छ । तिरष्कृत, अपमानित र घृणित मात्रै बन्नु परिरहने दुष्चक्रको भूँमरीमा फसेका छन् । यहि समुदायको निर्णायक मतबाट सत्ता र शक्तिमा पुगेपछि त्यहि समुदायलाई विश्वासघात गर्दै आएका छन् ।

युद्धको बेलामा साथ, बास, र गाँस दिए । त्यति मात्रै होइन त्याग र योगदान सँगै मृत्युलाई रोज्न तयार भए । त्यहि वर्गको सहयोगमा राजनीति गरेर आएको सम्भ्रान्त शासक वर्ग आज खोला तर्यो, लौरो बिर्सियो जस्तो गरिरहेछ । यसरी नेपाली समाजमा पटक पटक परिवर्तनको चक्रमा प्रभाव, प्रभुत्व र वर्चश्वशाली समूह बाधक बन्दै आएको छ । यसले नेपाली समाजको अग्रगमनलाई सँधै पश्चगमनमा लग्दैछ । यसरी नै विगत ७० वर्षदेखिको गोलचक्करमा देश घुमिरहेको छ ।

छुट्टै राजनीतिक शक्तिको बहसः
यी सबै परिदृष्यले अब छुट्टै वैकल्पिक राजनीतिक शक्तिको बहस गर्नुपर्ने बेला आएको छ । सँधै अरुको भोटबैंक बनी धोखाधडी राजनीतिको विकल्पमा सामूदायिक हितका लागि नेतृत्व किन नगर्ने ? खसआर्यको मूल नेतृत्व रहेको माओवादी युद्ध । पहिलो संविधानसभामा आफ्नो जातीय सत्ता गुम्ने
कारणले संविधानसभालाईनै विघटन गराई छोडे । तराई/मधेशको आन्दोलनबाट थुप्रै सीमान्तकृत लगायतको त्याग र बलिदानबाट मधेशी नेतृत्व स्थापित भए । सत्तामा पुगेपछि विपन्न समुदायलाई चटक्कै बिर्सिएको भुक्तभोगीहरु बताउँछन् । जनजाति नेतृत्वहरुले आफ्नो वर्गीय र जातीय पक्षधर संघीयताको मात्रै वकालत गर्दै उत्पीडितहरुलाई वेवास्ता गरिरहेका छन् ।

यसरी हेर्दा आफ्नो समुदायगत हित र मुद्धामा केन्द्रित राजनीतिले उत्पीडित समुदायको मुद्धालाई संवोधन गर्न सक्दैन भन्ने कुरा प्रष्ट भएको छ । आफ्नो समुदायगत पहिचान, अस्तित्व र राजनीतिक मुद्धाका लागि उत्पीडितहरुकै नेतृत्वमा चौथो शक्तिको रुपमा गोलबन्द हुनुको विकल्प छैन । केवल भोटबैंक बनेर बालीघरे,दास,गुलाम राजनीतिले केही उपलब्धी हुने देखिँदैन । अपमानित, तिरष्कृत र बहिष्कृत भएर अरुलाई सत्तामा उकाल्ने भर्याङ मात्रै कहिले सम्म बनिरहने ? उत्पीडित समुदायहरु एउटै साझा पार्टी निर्माण गरी एकजुट हुँदा ७७ वटै जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएर आउन सक्ने मत रहेको देखिन्छ ।

जनसंख्या केन्द्रित र ऐतिहासिक थातथलो र बसोबासको निरन्तरतालाई हेर्दा । पहिलो, कर्नाली, दोस्रो,गण्डकी र तेस्रो, सुदूरपश्चिम र २ नं. प्रदेशमा निर्णायक मत रहेको छ । यी प्रदेशहरुमा राम्ररी मेहनत र समुदायलाई जागरुक गराउँदा प्रदेश सरकार निर्माणको मुख्य चाबी उत्पीडित समुदायको हातमा आउने देखिन्छ । यसका लागि परम्परागत शास्त्रीय जडसुत्रवादी कम्युनिष्ट धार र लोकतान्त्रिक समाजवादी धारमा सानो पार्टीको पसल थापेर बसेका उत्पीडित नेतृत्वले त्याग गर्न सक्नु पर्दछ । शासकलाई फाइदा, सीमान्तलाई घाँडो, थ्रेसहोल्डको पासोलाई हटाइनुपर्छ ।

सँधै अरुलाई सत्तामा उकाल्ने भलाइ मानसिकता त्याग्नु पर्दछ । संर्किणता विहिन साझा सर्वमान्य नेतृत्वको खोजी गरिनु पर्दछ । यसरी आम उत्पीडित समुदाय एक हुन सकेमा सत्ता उन्मादले उन्मत्त सत्ताधारीलाई समेत राम्रै पाठ हुनसक्छ । शिल्पी समुदायको लागि एउटा उत्तम विकल्प यहि हुन सक्छ । यसबाट आत्मसम्मान, पहिचान,अस्तित्व स्थापित गर्न सक्ने देखिन्छ ।

दीर्घकालिन रणनीतिक महत्वका राजनीतिक वैचारिक मुद्धा समेत स्थापित हुन सक्छ । दार्शनिक रुपलाल विश्वकर्मा र विश्वविश्ख्यात् महामानव डा. भीम राव अम्बेडकरले देखाउनु भएको समुदायगत मुक्ति र स्वतन्त्रताको उन्नत राजमार्ग पनि यहि नै थियो । यसका लागि उत्पीडित समुदायका नेतृत्वपंक्ति बालीघरे राजनीतिबाट माथि उठ्न तयार छ ?

आजैबाट गौरवशाली राजनीतिक मार्गचित्र तयार गर्न किन नलाग्ने ? भावी पुस्ताको स्वाभिमान र समानताको लागि आजको नेतृत्वले गम्भिर रुपमा चिन्तन मनन् गर्न जरुरी छ । आगामी पुस्ताले सत्मार्गको निर्णयबाट चीरस्मरणीय आत्मगौरव गर्न सकुन ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्