- रुद्र विष्ट, झिमरुक ६, प्युठान
श्रष्टा परिचय शृंखला १: कवि-मोहनविक्रम सिंह
पिता खिमबिक्रम सिंह घर्तिक्षेत्री र माता ताराकुमारी घर्तिक्षेत्रीका माइला छोरा मोहनविक्रम सिंह ( वि. स. १९९२ ) साहित्य जगत भन्दा कम्युनिस्ट राजनीतिमा बढी सुनिने नाम हो l
उनि धेरै समयदेखि नेकपा (मसाल) का महामन्त्रीका रुपमा अर्ध भूमिगत शैलीमा नेतृत्व गर्दै आएका छन् l साथै साहित्य लेखनमा पनि उत्तिकै सक्रिय छन् l विचार पक्षलाई केन्द्रमा राखेर कविता सिर्जना गर्ने सिंहले फुटकर कवितादेखि लिएर खण्डकाव्यसम्म सिर्जना गरेका छन् l
त्यस्तै कथा, निबन्ध,नाटक, उपन्यास जस्ता विधामा पनि सशक्त रुपमा लेखन अगाडि बढाएका सिंह समालोचनाको क्षेत्रमा समेत सामेल छन् l त्यस्तै राष्ट्रिय र अन्तराष्ट्रिय साहित्यिक कृतिको समीक्षामा पनि उनको योगदान रहेको छ l
लेखनका दृष्टिले कवितामा गध शैली अपनाएका सिंह मूलतः प्रगतिवादी कवि हुन् l विभिन्न पाटा पक्ष केलाउदै बिषयवस्तुको गहिराइसम्म पुग्नु उनको कविता लेखनको विशेषता रहेको छ l त्यस्तै पश्चिमेली तीज गीतिलय उनका हरेकजसो कवितामा पाउन सकिन्छ l
उनका रचनामा सर्वहारा वर्गको उत्थानको लागि क्रान्तिको आव्हान पाइन्छ l त्यस्तै राष्ट्रियताको भाव, शोषण, दमन र अत्याचार विरुद्दको सङ्घर्षलाई कविता मार्फत सचेततापूर्वक देखाएको पाइन्छ l हार्दिकता भन्दा बौद्दिकतानै मुखरित भएका उनका कविता परिष्कारपूर्ण छन् l
कवि सिंहका मुख्य रचना कृतिहरु; युग नृत्य, साहित्य र समालोचना, साहित्य, जीवन र सौन्दर्य, दुई नाटक–दुई एकाङ्की, जलजला (प्रकाशोन्मुख उपन्यास ) हुन् l
………………………………………………….
कविता-वनफुल
- रिमा के सी, झिमरुक ६, प्युठान
म यौटा वनफुल,
छोपिएको छु झाडी र बुट्यानमा
बाँधिएका छन मेरा हातगोडा
जेलिएको छु सम्बन्धको कठोर जन्जिरमा
निमोठिँदै छन रहरका कोपिला
आगोमा जलिरहेछन सपना,
जिउँदो छु म, तर प्राण छैन
सबै छ्न तर आफ्नो कोही छैन !
कोही नहुनु र भए जस्तो हुनु
फरक रहेछ ।
आँखाको डिलबाट खसेको मुटु देख्ने कोही छ ?
फैलिएका छ्न स्वार्थी लहरा मात्र पहराभरि
नाम नपाएको म एक जंगली फुल !
सद्भाव देखाएझैं भमरा नजिक हुन्छ्न केही पल
लुटिएको खुशी दिने भीष्मप्रतिज्ञा गर्छन
सपना फिर्ता ल्याउने आश्वासन दिन्छ्न
र आफैं गर्छ्न आत्मदाह ।
मसित अङ्कुराएका आशाले गर्छन सँगै आत्महत्या
पानीको फोकाझैँ जब निमेषमै फुट्छ्न जिजीविषा
यो शहरभरि समाचारमा फैलिन्छ
मैले बाँडेको प्रेमरसमा भयानक विष थियो
अनकन्टार पहराको बीचमा
बिताइरहेछु म कैदी जीवन
मलाई कुनै गुनासो छैन
सुगन्ध छर्न नसकेकोमा
दुनियाँले चाहे जे गरोस् मसित
सारालाई भनेर मर्छु
`प्रकृति, म तिम्रो पागल प्रेमी !´
म कसैको गमलामा फुल्न नसकेर के भो ?
कसैको सुन्दर बगैंचामा नमुस्कुराएर के भो ?
म फुलेपछी नै खुल्छ वन \ फुल्छ वन ।
म एक वनफुल
सिर्फ वनफुल !
तिम्रो आँखामा फुल्न नसकेर के भो ?
फुलिरहेकै छु आफ्नै जीवनको अक्करे भिरमा ।
………………………………………………….
कविताः चुरोट र बाजे
-
-
- घनश्याम अस्तित्व
-
उस्तै उस्तै लाग्छन् मलाई
चुरोट र बाजे
……………………………
एक साँझ,
एकसर्को तान्ने बित्तिकै
बाजेले जोड – जोडले खोकेको देख्नुपर्दा
मैले सोधेको थिए – बाजे चुरोट किन पिउनुहुन्छ ?
एकाएक बाजेका आँखाहरुमा
जम्मा भएका थिए – बादलका जमातहरू
र बर्षनु भएको थियो बाजे
जवाफै जवाफको असार बनेर
प्रश्नहरूले भरिएको मेरो मस्तिष्कमाथि
……………………………
समयको गर्भमै थिए अक्षरहरू
जन्मेका थिएनन्
सपना बचाउने कोरा पाना र कलमहरू
युग बोल्थ्यो – ‘‘हलो जोत्यो मामै माम’’
त्यतिबेलै खसे बाउ जिन्दगीको आकासबाट
काँधमा बोके हलो र जुवा
घरमुनिको बारीमा नारे काले र फुर्केलाई
त्यतिबेलै फ्याँकेथ्यो बाउले समाउने अनोले
कक्कडको सुगन्ध – प्रिय, निकै प्रिय लागेको थियो ।
तँ सोध्छस् – बाजे चुरोट किन पिउनुहुन्छ ?
जव कुरा नमिलेर तेरो बोइ
ठुस्किन्थि बेला–बेलामा
म बेर्थे सालको पात
भर्थे धाइरो र खर्से मिचेको धुलोले
सल्काएपछि बिंडी फैलन्थ्यो कोठाभरी धुँवा
तब न मिल्थे तेरो बोइ र मेरो बिचमा
नमिलेका सबै–सबै कुराहरु ।
तँ सोध्छस् – बाजे चुरोट किन पिउनुहुन्छ ?
एकसालको कालो साउनले खोसेको थियो मबाट
छ, नौ र तेह्र बर्ष पुगेका तीन भाई छोराहरू
जलाएर फर्किदा जुन्नेबाट
सुल्फाकै लठ्ठि टेकेर उक्लिएको थिए – त्यो दमारको उकालो
तँ सोध्छस् – बाजे चुरोट किन पिउनुहुन्छ ?
आगनको यही फोर्सोको हाँगामा
अभाव र भोकले पिङ खेल्न थालेपछि एकसाँझ
झोला बोकेर समाएको थिए – देश जाने बाटो
दोस्ती बनेको थियो दोस्ती – चुरोट
तँ सोध्छस् – बाजे चुरोट किन पिउनुहुन्छ ?
मन्द्रासका गल्लीहरूमा भौंतारीरहँदा
छ महिना पछि सुनेको थिए – आमा बितेको खबर
बिंडी–बिंडीले भरेर झोला,
म चढेको थिए – गोरखा एक्सप्रेस
तँ सोध्छस् – बाजे चुरोट किन पिउनुहुन्छ ?
कुनै दिन जिताएको थिए मैले यसलाई
चारबीस उमेरले थिंचेपछि
आज जित्न खोज्दैछ यसले
गुन विर्षनु हुँदैन नाती – बिर्षनु हुँदैन ।
अव कहिल्यै नसोधेस् – बाजे चुरोट किन पिउनुहुन्छ ?
…………………………..
यस्तो बानी परिसक्यो आजभोलि
म बाजे देख्दा चुरोट सम्झन्छु
चुरोट देख्दा बाजे सम्झन्छु
उस्तै उस्तै लाग्छन् मलाई – चुरोट र बाजे ।
# प्यूठान, हाल–दाङ,
………………………………………………….
कविताः देश हराएपछि
-
-
- शिवराज भट्टराई
-
धेरैदिन पछि व्युझिएँ र आँखा उठाएँ
पर्दा खसेछ, शून्य खाली शून्यमै विलाएँ
हेर्छु हराएछ देश, खोज्दैछु भित्ता भित्तामा
बाटो बन्द छ, छैन कतै नजरमा
हिजोसम्म देखिन्थ्यो क्षितिजमा
आज हेर्छु र देख्छु छैन नजरमा
दिन चर्केको छ रात झनै बल्झेको छ
यी दिन र रात सँग सोधें
खै कता गएछ मेरो देश ?
बोलेन खाली मुस्कायो मात्र यो दिन
सोधें रात सँग कता हराएछ मेरो देश ?
रात केहि बोलेन, ऊ त शोकमा छ
देखें कात्रो ओढी लम्पसरिएको
कहाँ भेटिन्छ मेरो देश हराएको ?
विस्तारै बाहिर हेरेँ, सोधेँ बतासलाई
भन्यो चुप लाग देश मौनतामा छ बुद्द जस्तै
ओहो मौनता ?
के मौनता ?
………………………………………………….
भ्रान्ति
- प्रभात रावत
तिमी सच्चिनु पर्छ
म सच्चिनु पर्छ
हामी सच्चिनु पर्छ- अब ।
उस्तै उस्तै लाग्ने
आइन्स्टाइनको ‘सापेक्षता ‘
शंकराचार्यको ‘माया ‘
र बुद्धको ‘अनित्यता ‘
यिनीहरू पनि भ्रम हुन सक्छन् ।
नओकल्नु –
तिम्रा आव्ह्वानहरु क्षणिक हुन्
नअल्झिनु-
तिम्रा लय र कलाहरू पासो हुन्
नउड्नु-
तिम्रो अलङ्कारको छैन कुनै गन्तव्य
नसम्झनु-
तिम्ले पढेका मिथक र तिम्रो समय एउटै हो
नलिनु –
टुक्रिएर सात देखिने एउटै रङको स्वामित्व
नभन्नु-
एउटा बेहोस हावाको धुनलाई कविता ।
तिमी सच्चिनु पर्छ
म सच्चिनु पर्छ
हामी सच्चिनु पर्छ अब !
भनिन्छ-
तिमीले टेकिरहेको भुईं अनित्य छ
तिमीले देखिरहेको दृश्य भ्रान्ति हो
तिम्रो जिब्रो
र त्यो स्वाद मार हो
रुखका पातहरू जस्ता हुन् सम्बन्धहरू
पण्डितको शास्त्र र तिम्रो डिग्री
भोक मेट्ने भ्रमको तमसुक मात्र हो ।
नराख-
रहरहरु दुःख हुन्
दुःखहरू तिम्रा नियति हुन्
र सुख तिम्रो-
प्राप्ति होइन परीक्षा हो ।
दर्शनहरु
नसुनाऊ कसले सुन्छ अब
अमूर्त कला
छोडिदेऊ कसले बुझ्छ अब ।
खोज्नु छ
खोजीहरु सकिएको अनुष्ठान्
देख्नु छ
दृश्यहरु हराएको अटुट आकास
सुन्नु छ अब
श्रोत र स्वामित्व नभएको नित्य धुन
बिसाएर सबै भारी
फेर्नु छ –
समुद्र भन्दा गहिरो श्वास !
आऊ
तिमी सच्चिनु पर्छ
म सच्चिनु पर्छ
हामी सच्चिनु पर्छ अब !
………………………………………………….
कविताः अझै एसेलु पाग्दै छन् गाउँमा
डा. शैलेन्द्रविक्रम गिरी, झिमरुक ६, दहखोला प्युठान ।
अझै एसेलु पाग्दै छन् गाउँमा
तिमीलाई उत्तै डाक्दै छन् गाँउमा
गाउँको धुलो अझै छ पाउँमा
केतुकीमा लेखेको तिम्रो नाम
अझैंपनि उस्तैछ त्यही ठाउँमा ।।
खोला नाला बन जंगल
सब कुरा यही हुन्छ मंगल
निस्वार्थ भावना चोखो प्रेम
अनेत्र कहाँ मिल्छ यस्तो
गाउँ हाम्रो छ स्वर्ग जस्तो ।।
लालुपाते थुगेश्वरी बासना मगमग
श्रम रोपे दुनियाँ यहुन्छ जगमग
पवित्र माटो गोरेटो बाटो
सम्झना आउँछ झल झल
जन्मेको गाउँ लाग्छमायाँ कलकल ।