जनादेश हेल्थ डेस्क ।
विश्वमा कोरोना महामारी अझै चलिरहेको छ । कतिपय देशमा नयाँ लहर देखिएको छ । नेपालमा पनि कोरोना नियन्त्रण उन्मुख रहेपनि अझै महामारी कायमै छ । उता छिमेकी भारतको केरला राज्यमा कोरोनासँगै नयाँ भाइरस देखिएको छ । अझै कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी पीडित र भारत अहिले दैनिक थपिने कोरोना संक्रमितको संख्यामध्ये झण्डै आधा रहेको केरला राज्यमा अर्को संक्रामक भाइरस पनि देखिएको छ । त्यो हाे नोरोभाइरस ।
केरलाको वायनाड जिल्लाका १३ जनामा नोरोभाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी १५ जनाभन्दा बढीलाई नोरोभाइरसको लक्षण देखिएको छ । केरला राज्यका स्वास्थ्यमन्त्रालयले नोरोभाइरस भेटिएको भन्दै गत शुक्रबार नै सबैलाई सचेत गराएको छ ।
केरलाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै दिन्दुस्तान टाइम्सले केरलाको वायनाड जिल्लाको एक पशु चिकित्सा विश्वविद्यालयमा अध्ययनरत १३ विद्यार्थीमा नोरोभाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । नोरोभाइरसका विषयमा पनि केरला राज्यको स्वास्थ्य मन्त्रालयले जनस्वाथ्यका मापदण्ड लागु गरेको छ ।
के हो नोरोभाइरस ?
यो दूषित पानी, खानेकुरा र जनावरबाट सर्ने भाइरस हो । संक्रमित व्यक्तिको सम्पर्कमा रहँदा, भाइरस रहेको सतहमा छोएर त्यही हातले खाना खाँदा वा मुखको सम्पर्कमा हात लैजाँदा यो भाइरस सर्न सक्छ । संक्रमित व्यक्तिको दिसा, पिसाब तथा वान्ताबाट पनि यो भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्छ ।
स्वस्थ व्यक्तिलाई यसले धेरै असर नगर्ने भए पनि वृद्ध, बालबालिका, दीर्घरोगी र रोगप्रतिरोध क्षमता कमजोर भएकालाई यसले गम्भीर असर पुर्याउन सक्छ । संक्रमण हुँदा अत्यधिक वान्ता तथा झाडापखाला हुने भएकाले बिरामीको अवस्था गम्भिर हुन सक्छ ।
लक्षण
नोरोभाइरस संक्रमण भएको खण्डमा पेट तथा आन्द्रा सुन्निन्छ । यसबाहेक पेट दुख्ने, पखाला लाग्ने, वान्ता हुने, पेटमा ग्यास भरिने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छ ।
कसरी बच्ने ?
स्वस्थ पानी र खानपानले नै यो भाइरसको संक्रमणबाट जोगिन सकिन्छ । स्वस्थ खाना र पानीलाई राम्रोसँग उमालेर खानुपर्छ । पानीका स्रोत तथा जम्मा गरेर राख्ने भाँडा, ट्यांकीहरु दिनहुँ सफा राख्ने गर्नुपर्छ ।
खाना खानुभन्दा अगाडि र शौचालय गएर आएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । जनावरसँग धेरै समय बिताउने व्यक्तिहरुले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । काँचै खाने फलफुल तरकारीहरु राम्रोसँग पखालेर खानुपर्छ ।
यो भाइरसको संक्रमणले बिरामी परेमा घरमै उपचार गर्दा पनि निको हुन्छ । शरीरमा पानीको मात्र कमी हुन नदिने प्रशस्त झोल खानेकुरा तथा जीवनजल खाइरहनुपर्छ । अवस्था जटिल हुँदै गएमा भने तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ ।