वायु प्रदूषणले स्वास्थ्यमा चुनौती, सतर्क रहन चिकित्सकको आग्रह – Janadesh Daily | ePaper

वायु प्रदूषणले स्वास्थ्यमा चुनौती, सतर्क रहन चिकित्सकको आग्रह


जनादेश मिडिया वाच ।
केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।

वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए । उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताए । डा. पङ्गेनीले बालबालिकालाई श्वासप्रश्वासमा समेत असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । उनले भने, “यदि घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनुपर्छ । अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोसम्बन्धी बिरामीलाई झन् असर पर्ने डा. पङ्गेनीको भनाइ छ । वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जी हुने गर्छ ।

यसैगरी, वीर अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले प्रदूषणले दीर्घरोगीलाई मात्र नभई, स्वस्थ व्यक्तिलाई समेत असर गर्ने बताए । उनले दम, मुटु, छातीको समस्या भएका बिरामीलाई असर गर्ने भएकाले विशेषगरी दीर्घरोगीले सचेतना अपनाउनुपर्ने बताए । उनले अहिलेको वायु प्रदूषणबाट जोगिनलाई ‘मर्निङवाक’ नगर्ने, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाएरमात्र निस्कने, वायु प्रदूषण भएका बेला कठिनखालका शारीरिक अभ्यास नगर्ने, वायु प्रदूषणबाट आँखा जोगाउनका लागि चस्मा प्रयोग गर्नुपर्ने बताए ।

गोरखापत्र दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्