जनादेश हेल्थ डेस्क ।
नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ‘ओमिक्रान’ पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। संगठनले यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएका कारण उच्च सतर्क रहनुपर्ने जनाएको छ।
नयाँ भेरियन्ट देखा परेसँगै कैयौँ देशले दक्षिण अफ्रिका जाने–आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका छन् भने कतिले यसलाई सीमित गरेका छन्।
दक्षिण अफ्रिकासँगै यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पुष्टि भइसकेको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुमा उनीहरू युके वा आयरल्यान्डका नागरिक वा युकेका बासिन्दा रहेको अवस्थाबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।
यस्तै बेलायत, अमेरिकालगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन्।
युरोपेली संघअन्तर्गतका राष्ट्र र स्विट्जरल्यान्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।
शुक्रबार विश्व स्वास्थ्य संगठनले सुरुमा नयाँ भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबैजसो राज्यमा संक्रमण बढिरहेको पाइएको जनाए पनि वैज्ञानिकहरूले यो भेरियन्ट कत्तिको संक्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेको भन्दै नयाँ भेरियन्टको प्रभाव बुझ्न केही साता लाग्नेसमेत जनाएको छ।
वैज्ञानिकहरूले अनुसन्धान गर्दै गर्दा यो भेरियन्ट विभिन्न देशमा फैलिन थालिसकेको छ। भारतमा समेत ‘ओमिक्रान’ भेरियन्ट देखा परेपछि भारतले दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्ष्य गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका छन्। भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न विमानस्थललाई निर्देशन दिइसकेको छ। अफ्रिका हुँदै विभिन्न मुलुकमा देखा पर्न थालेको ‘ओमिक्रान’ भारतमा पनि देखिएपछि यसको जोखिम नेपालमा अझ बढी रहेको विज्ञहरूले बताएका छन्।
यो भाइरस नयाँ भएका कारण अझै त्यति धेरै जानकारी नभएको डा. शेरबहादुर पुन बताउँछन्। उनले भने, ‘खोपले कति काम गर्ने–नगर्ने भन्ने कुरा सार्वजनिक भइसकेको छैन। यसबारे अध्ययन अनुसन्धान भइरहेको छ। अहिले नै सबै कुरा यो हुन्छ, त्यो हुन्छ भन्न सकिँदैन।’
डा. पुनका अनुसार भेरियन्टमा धेरै न्युटेन देखिएको छ। यसमा पनि स्पाइक प्रोटिन देखियो। जसले गर्दा दक्षिण अफ्रिकामा संक्रमण फैलिन सक्ने क्षमता बढी देखिएको भनिएको छ।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट अन्य मुलुकमा पनि देखिन थालेकाले नेपालमा सतर्कता अपनाउनुपर्ने उनी बताउँछन्। उनका अनुसार भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्छ।
‘अहिले नेपालमा हवाई उडान खुला छ। अझ यो भेरियन्ट भारतमा देखिन थाल्यो भने योभन्दा अगाडिको डेल्टा भेरियन्टजस्तै गाह्रो पर्न सक्छ। अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर भारतसँग जोडिएका नाकामा उच्च सतर्कता अपनाउन आवश्यक छ’, उनले भने।
यस्तै, स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा नयाँ भेरियन्ट पुष्टि भइनसके पनि त्यसलाई सम्भावनामै राखेर काम अगाडि बढाइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
आफूले सिकेका कुरालाई व्यवहारमा निरन्तर लागू गर्नुपर्ने डा. अधिकारीको भनाइ छ। उनले भने, ‘यो कुरा पछिल्लो घटनाक्रमले देखिएको छ। अहिले विश्वव्यापी चरणमा यति तीव्र गतिमा छ कि आज एउटा महादेशमा भएको व्यक्ति भोलि धेरै वटा महादेश पार गरेर विभिन्न ठाउँमा पुगिसकेको हुन्छ। यो अहिलेको नयाँ भाइरस भनौँ वा परिवर्तित भाइरस पनि मानिसको शरीरभित्रबाट फैलिन सक्छ। यसलाई मानिसले सँगै बोकेर लिएर हिँड्ने हो। त्यही भएर एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा फैलिनसक्ने सम्भावना छ।’
केही दिनअगाडि अफ्रिकामा देखिएको भाइरस अहिले विभिन्न देशमा पुष्टि हुँदै गर्दा स्वास्थ्य मन्त्रालयले लिने सावधानी तीव्र गतिमा शुक्रबारदेखि नै अगाडि बढाएको उनले बताए।