भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित, ओमिक्रोन भाइरस भित्रिन नदिन उच्च सतर्कता – Janadesh Daily | ePaper

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित, ओमिक्रोन भाइरस भित्रिन नदिन उच्च सतर्कता


एएनआई।

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ ।

एउटै समयमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ ।

भारतमा अहिलेसम्म तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएका छन् ।

ओमिक्रोन भाइरस भित्रिन नदिन उच्च सतर्कता

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।

भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ । तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् ।

दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ । भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्