जनादेश वाच ।
विश्वभर कोभिडका हजारौँ भेरिअन्ट फैलिएको छ। यो अपेक्षित नै हो किनभने भाइरसमा उत्परिवर्तन भइरहन्छ। तर B.1.1.529 वा ओमिक्रोनले भने विज्ञहरूलाई चिन्तित बनाएको छ।
हाल उपलब्ध कोभिड खोपहरू सुरुमा पुष्टि भएको कोभिडमा आधारित रहेको तर ओमिक्रोन भने त्योभन्दा निकै फरक रहेकाले विज्ञहरू चिन्तित बनेका हुन्। यसमा भएको आनुवंशिक परिवर्तनहरूको सूची लामो छ।
कुल ५० परिवर्तनमध्ये ३२ वटा परिवर्तन भाइरसको स्पाइक प्रोटिनमा छ जसलाई खोपले लक्षित गरेको हुन्छ। तर यसले कति खतरा बढाउँछ भन्ने कुरा स्पष्ट भइसकेको छैन।
के खोपले अझै काम गर्छ?
विज्ञहरूका अनुसार हाल उपलब्ध खोपले राम्रोसँग काम नगर्न सक्छ। तर यसको अर्थ यो होइन कि खोपले सुरक्षा प्रदान गर्दै गर्दैन। कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामा जस्ता प्रमुख भेरिअन्टहरूले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउन खोपहरू अझै प्रभावकारी छन्। हाल देखिएका अनि भविष्यमा देखिन सक्ने भेरिअन्टहरूबाट अधिकतम सुरक्षा प्राप्त गर्नका लागि खोपका सुझाइएको मात्रा प्राप्त गर्न अत्यावश्यक रहेको चिकित्सकहरू बताउँछन्।
स्वास्थ्यको सतर्कता सन्देश
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो।
‘कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, ‘ विज्ञप्तिमा भनिएको छ। यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पनि यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा गरेको छ।
‘हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको अवस्था छ। नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।